१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्लमस्टिडमा नेपालीको नयाँ फार्मेसी

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार २१:०६

लण्डन । साउथ इष्ट लण्डनमा नेपालीहरुको लगानीमा एक नयाँ फार्मेसी सुरु भएको छ ।

कण्डेल ग्रुपको तेस्रो फार्मेसीको रुपमा प्लमस्टिडमा स्थापित प्लमस्टिड फार्मेसी शनिबार एक समारोहकाबीच उद्घाटन गरियो । सो ग्रुपले यसअघि सन् २००९ देखि एबिउडमा ‘निम ट्रि फार्मेसी’ र सन् २०१३ देखि वुल्वीचमा ‘वुल्वीच लेट नाइट फार्मेसी’ सञ्चालन गर्दै आएको छ । स्थानीय ग्रीनवीच काउन्सिलकी मेयर क्रिस्टिन मेले रिबन काटेर प्लमस्टिड फार्मेसीको उद्घाटन गरेकी थिइन् ।

त्यसअवसरमा मेयर मेले स्थानीय समुदायको हितका दृष्टिले फार्मेसीको ठूलो महत्व रहने बताइन् । ग्रीनवीच बरोमा उल्लेख्य संख्यामा रहेका नेपालीहरु प्लमस्टिड फार्मेसीबाट थप लाभान्वित बन्ने विश्वास उनले व्यक्त गरिन् ।

फार्मेसी सञ्चालक कंडेल ग्रुपका सिईओ राजन कंडेलले व्यवसायको साथसाथै स्थानीय समुदायको सेवालाई समेत ध्यानमा राखेर आफ्नो समुहले साथ इष्ट लण्डनमा तेस्रो फार्मेसी सञ्चालनमा ल्याएको बताए ।

बेलायत, नेपाल तथा मिडल इष्ट समेतका क्षेत्रमा शिक्षा, प्रपर्टी, मिडिया लगायतका क्षेत्रमा लगानी गरेको ग्रुपले आफ्ना फार्मेसीहरुमार्फत स्थानीय नेपाली तथा भूपूगोर्खा समुदायहरुलाई प्राथमिकतामा राखेर सेवा दिने सिईओ कंडेलले बताए । समुहका तीन वटै फार्मेसीमा अंग्रेजी बाहेक नेपाली , हिन्दी र रोमानियन लगायतका भाषा बोल्ने स्टाफहरु उपलब्ध रहेको उनले जनाए ।

प्लमस्टिड फार्मेसीकी सञ्चालक तथा सुपरिटेण्डेन्ट फार्मासिस्ट दिलाशा श्रेष्ठले स्थानीय समुदायको आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी फार्मेसीले सेवा उपलब्ध गराउने बताइन् । फार्मेसीको नियमित सेवाबाहेक स्थानीय समुदायको लागि निशुल्क स्वास्थ्य चेकजाँच, स्वास्थ्य सचेतना कार्यक्रम लगायत पनि सञ्चालन गर्ने योजना उनले सुनाइन् ।

त्यसअवसरमा चार्ल्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, साउथ ईस्ट रिजनल तमु धिं लण्डनकी उपाध्यक्ष पार्वती गुरुङ, पशुपतिनाथ मन्दिर प्लमस्टिडका अध्यक्ष सहदेव गिरी, व्यवसायीहरु फत्त थापा, यादव भण्डारी लगायतका स्थानीय समुदायका अगुवाले शुभकामना मन्तव्य राख्दै प्लमस्टिड फार्मेसीको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

उनीहरुले नेपाली समुदायको सुविधालाई प्राथमिकतामा राखेर फार्मेसी सञ्चालन हुनु प्रशंसनीय रहेको भन्दै सहकार्यको लागि समुदायको तर्फबाट प्रतिबद्धता पनि गरेका थिए ।

प्लमस्टिड फार्मेसी हरेक साता सोमबारदेखि शुक्रबार बिहान ९ देखि सांझ ७ बजेसम्म खुला रहन्छ । आउंदो मार्च १२ देखि भने शनिबार पनि खोल्ने योजना छ । फार्मेसीमा आवश्यकताअनुसार प्राइभेट डाक्टर बुकिंग तथा होम डेलभरी लगायतका विशेष सेवा पनि उपलब्ध छन् ।