४ बैशाख २०८१, मंगलवार
Follow Us

न्यानो कपडा वितरण

sarusaru
१३ माघ २०७५, आईतवार ०८:०२

राजविराज : जाडोबाट समस्यामा रहेका दलित विपन्न परिवारका छात्र–छात्रालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको अतिबिकट मानिएको गोबरगढा र मधवापुरका ९२ दलित विपन्न परिवारका छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको हो । सिर्जना फाइनान्सद्वारा जाडोबाट पीडित छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी गङ्गा साहले बताउनुभयो ।
उक्त वितरण कार्यक्रममा फाइनान्सका सञ्चालक सुभाष आचार्य, सञ्जीवकुमार मिश्र, वडा नं ४ का वडाध्यक्ष नागेश्वर मण्डल, पलट राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र साह, सञ्चारकर्मी गङ्गा साह, राजु शर्मालगायतको सहभागिता थियो ।

यस्तै जिल्लाको बिष्णुपुर र रुपनी गाउँपालिकाका ७५ दलित विपन्न परिवारलाई कम्मल वितरण गरिएको छ । मानव सेवा ट्रष्ट र उपकार सेवा नामक संस्थाले संयुक्त रुपमा जाडोबाट प्रभावित दलित, एकल महिला तथा अतिविपन्न घरपरिवारलाई कम्मल वितरण गरिएको हो ।

यस्तै सप्तरीको रुपनी गाउँपालिका–६ का २५ दलित विपन्न परिवालाई कम्मल वितरण गरिएको छ । त्यस्तै विष्णुपुर गाउँपालिका–७ स्थित रामटोलमा आयोजित कम्मल वितरण कार्यक्रममा मानव सेवा ट्रष्टका अध्यक्ष सुरेश गुप्ता, सदस्य विनोदकुमार विश्वकर्मा र उपकार सेवाका निर्देशक वसन्त खन्डेबाललगायतले सो बस्तीका ५० दलित एवं विपन्न परिवारलाई कम्मल वितरण गर्नुभएको छ ।

यस्तै तोपास्थित मेरी सटोप्स नेपालद्वारा गरिएको परिवार नियोजनका क्रममा चिकित्सकको लापरवाहीले मृत्य भएको भन्दै पीडित परिवारलाई राहत प्रदान गरिएको छ । स्वास्थ्य केन्द्रमा स्थायी बन्ध्याकरण गराएकी ३० वर्षीया सुनिता मुखियाको शुक्रबार राति मृत्य भएको थियो ।

आक्रोशित पीडित परिवारले क्षतिपूर्तिको माग राख्दै तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियाको बाँधमा सडक अवरुद्ध गरेपछि उनीहरुको मागअनसार तत्काल गाउँपालिकाले किरिया खर्चवापत रु २५ हजार उपलब्ध गराएको थियो । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले उक्त लापरवाहीको विषयमा छानबिन गरी दोषीलाई कारवाही गरिने बताउनभयो ।
रासस