१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘आफ्नै ज्यानको पर्वाह नभएको पागल डा केसीलाई मर्न देऊ’

नेपालब्रिटेन डट कम्
१३ माघ २०७५, आईतवार १४:१६

डा. केसी तिमी मर्नुपर्छ,
माफियालाई मेडिकल कलेज चलाउन गाह्रो भो,
सरकारलाई तिनको रक्षा गर्न अनि,
गरीब निमुखाका नाममा पाएको जनमत माथि,
रगतको आहालमा बसेको सत्ताको शाख जोगाउन गाह्रो भो१

दिनदहाडै बलात्कार गरी मारिएकी गरिवकी छोरी,
निर्मलाका अपराधी लुकाउन गाह्रो भो,
सत्ता र शक्तिको उन्माद संगै
पापको अजङ्गको भारी थाम्न गाह्रो भो।

गाह्रो भो । चोरलाई चौतारो अनि साधुलाई सूली चढाउन,
जुठा मार्सी चामलले ढाडीएका भूँडीहरु सुकाउन,
सत्य निरुपणलाई बिस्कुन सुकाएर ,
अत्याचारी दोषीलाई जोगाउँदै ,
युद्ध पिडितका घाउमा नुन छर्न गारो भो।

डा। केसी१ तिमिले मरिदिंदा सहज हुने,
संगठित ठगहरु र स्वार्थले टुक्रिएका सज्जनहरु,
मुख बन्द बुद्दिजीबि अनि अन्याय सहिबस्ने अनागरिकहरु
रातो खास्टो ओढेका काला ढाडे बिरालाहरुलाई ,
न्यायको किलकिले निमोठेर अन्यायको पट्टि बाँध्न गारो भो।

बेचिएका न्याय अनि किनिएका जहाजहरुमा,
जनताको स्वाभिमान अनि खुनपसिनाको तिरोमा
कमिसन र ब्यापार धन्दा चलाउन सारो भो,
आकासमा उडेर गरिवी र दुस्खका रमिता हेर्न गारो भो,

हिंसा र युद्धका ब्यापारले जोडेका कालो धनले
कर्म र श्रम गरेर बसेका मजदुर ब्यापारी बिस्थापित् गर्दै
उद्यम व्यवसायको शाख गिराएर,
मुलुकलाई वित्तीय अपराधको कालो सूचिमा दर्ज गर्न गाह्रो भो।

गाह्रो भो अदालतमा न्याय बेच्न,
अख्तियारी र प्रहरीको बिश्वास लिलाम गर्न,
आफैले गरेको सरकारी समझौता उलंघन गर्ने
किर्ते शिलशिला थाम्नै गारो भो१

केसी तिमी मर्न पर्ने भो माफियाको खातिर ,
भ्रष्ट अनि युद्ध अपराधीहरुका नजरमा ,
न्यायको कालो झोली लिएका बिकाउ न्यायधीश
अनि बलात्कारी जोगाउन लागेको बर्दिवाला सिपाहीको लागि१

खै तिमी किन मर्दैनौ, कहाँबाट आउछ तिमीमा यत्रो शक्तिरु
सायद भोका, निमुखा उपचार नापाई मरेका आत्माहरु
निर्मम बलात्कार गरी मारिएकी निर्मला अनि,
राजनीतिका नाममा गरिएका अपराध र कु-कर्मले,
ज्यान गुमाएका अबोध र निर्दोष आत्माहरु
तिमी मार्फत न्यायको आशमा रहेका होलान्,
तिनैको आशीष र आत्माको पुकारले तिमी त अमर छौ ?

त्यसो त ! देश र जनताको निमित्त तिमीले दाउमा राखेको तिम्रो प्राणका खातिर,
सत्तीसाल बनेर लडिरहेका सत्य र निष्ठाका जिउँदा सिपाहीहरु,
दियो बालेर प्रार्थना गरिरहेका गाउँका आमा, बुवाहरु,
मौन ब्रत बसेका अबोध अनि बुद्धिजीवि बिज्ञहरु,
सडकमा आउनेछन् तिम्रो रक्षाकालागि
तिम्रो मृत्युको मोल तौलीरहेको माफिया र भ्रष्टतन्त्रको काल बनेर।

कदापि मर्न हुन्न, जोगाउनै पर्छ बिजन यो खडेरीमा,
तिमीले सत्य र निष्ठाको !!

जगन कार्की, लण्डन।