१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज, चम्किए पारस

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार १४:३७

काठमाडौं– नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ ।

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।

तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।

आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

नेपालको जितमा कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा ग¥यो । नेपालको जितमा कप्तान पारसले १०९ बलको सामना गर्दै ११५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । त्यस्तै सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए । त्यस्तै विनोदभण्डारीले नौ, रोहितकुमार पौडेलले १६ र दिपेन्द्रसिंह ऐरीले छ रन बनाएका थिए । युएईका इमरान हेदर र अस्फाक अहमदले दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै छ विकेट गुमाएर २५४ रन जोडेको थियो ।