८ बैशाख २०८१, शनिबार
Follow Us

बालुवाटारमा नेविसंघ एकाएक पस्दा तनाव

नेपालब्रिटेन डट कम्
१५ माघ २०७५, मंगलवार ०७:५७

काठमाडौं– काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेको छ । सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेको हो ।
प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री कार्यालयको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।
नेविसंघका नेता कार्यकर्ता छापामार शैलीमा निषेधित क्षेत्र प्रवेश गरेर नाराबाजी गर्न थालेपछि प्रहरीले लाठीचार्ज गर्दै धरपकड सुरु गरेको थियो । सो क्रममा प्रहरीले दुई दर्जन नेविसंघका नेता कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ पर्नेमा नेविसंघको नेताहरु सुशील भट्ट निरञ्जन थापा, सुवोध ओली, किरण भट्टराई, सन्तोष गुरुङ, शौरभ घिमिरे, सन्देश पन्तलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ ।
निर्मला पन्तको हत्यारालाई कारबाही नगरेको, डा गोविन्द केसीको माग सम्बोधन नगरिएको, काँग्रेसका नेताको नाममा राखिएको हस्पिटललाई विभेद गरिएको लगायतको आरोप लगाउँदै नेविसंघले प्रदर्शन गरेको हो ।