७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ बागलुङले थाल्यो नयाँ अभियान

sarusaru
१५ माघ २०७५, मंगलवार ०८:११

बागलुङ– नेपाल पत्रकार महासंघ बागलुङ शाखाले श्रमजिवी पत्रकार ऐनको प्रभावकारी कार्यन्वयनका लागि नयाँ अभियान शुरु गर्ने भएको छ ।
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले जिल्लाभर कार्यरत पत्रकारहरुको तथ्यांक र ऐन कार्यन्वयनको यथार्थ अवस्था पहिचानका लागि सञ्चार माध्यमसँग समन्वय गर्ने निर्णय गरेको हो । यसका लागि तथ्याकं अद्यावधिक र जिल्लामा सबै संचार माध्यमसँग समन्वयको लागि महासंघ सचिव राम थापालाई जिम्मेवारी प्रदान गरिएको महासंघले जनाएको छ ।
जिल्लाभर कार्यरत रहेका श्रमजिवी पत्रकारहरुको संख्या, नियुक्ति पत्र, पारिश्रमिक, दरबन्दी बिवरणको अवस्थाबारे तथ्यांक संकलन गरि यथार्थ अवस्था बुझ्नका लागि यस्तो निर्णय गरिएको शाखा अध्यक्ष दिल शिरीषले बताए ।
‘अहिले महासंघमा आवद्ध १ सय ८० बाहेक अन्य नयाँ पत्रकार सञ्चारकर्मीको संख्या पनि उल्लेख्य छ, तर त्यसका बारेमा आधिकारिक तथ्यांक छैन,’ उनले भने, ‘अर्को तर्फ सञ्चार मन्त्रालयमा अनिवार्य रुपमा नियुक्ति पत्र र पारिश्रमिक उल्लेख गरेर दरबन्दी बिवरण पठाउनु पर्छ, त्यसको एक प्रति महासंघले माग गरेर ऐन कार्यन्वयनका लागि पहल र दबाव दिने हो ।’
यसका लागि श्रमजिवी पत्रकारहरु समेत आफ्नो पारिश्रमिक र पेशागत जिम्मेवारीबारे अन्यौलमा रहेको अवस्थामा बिशेष सहयोग गर्ने गरि ‘श्रमजिवी पत्रकार डेस्क’ समेत सञ्चालन गर्ने तयारीमा रहेको अध्यक्ष शिरीषले बताए । डेस्क मार्फत पत्रकारहरुलाई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न र मिडिया सञ्चालकलाई नियमित रुपमा पारिश्रमिक दिन समन्वय र सहयोग गरिनेछ ।
अहिले सरकारले न्युनतम पारिश्रमिक ऐनको प्रभावकारी कार्यन्वयनका लागि पत्रकारलाई तलब उपलब्ध गराएको बैकं स्टेटमेन्ट समेत अनिवार्य बुझाउन निर्देशन दिएको छ । यो ऐन कार्यन्वयनका लागि पत्रकारले अनिवार्य रुपमा दैनिक ८ घण्टा काम गर्नुपर्ने र त्यसबापत कम्तीमा मोफसलमा १९ हजार २ सय उपलब्ध गराउनुपर्नेछ ।
बैठकले जिल्ला फुटबल संघ बागलुङ सँगको समन्वयमा आगामी माघ १८ र १९ गते खेल पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको महासंघका सचिव राम थापाले बताए । तालिमको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिना र कान्तिपुर एफएमका स्टेशन म्यानेजर पवन आचार्यले सहजीकरण गर्ने कार्यक्रम तय भएको छ ।
यसैगरी, बैठकले पत्रकार हरिनारायण गौतम र उनको परिवारद्धारा दिवंगत बुबा हरिलाल गौतम र आमा नन्दकली गौतमको स्मृतिमा महासंघ मार्फत प्रदान गर्ने गरि स्थापित ‘नन्दहरी र्सिजनशिल पत्रकारिता पुरस्कार—२०७४ प्रदान गर्नका लागि पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा तीन सदस्य पुरस्कार छनोट समिति गठन गरिएको छ ।
समितिको सदस्यमा नागरिक समाजको तर्फबाट काजीगाउँले श्रेष्ठ र पुरस्कार कोष संस्थापकको तर्फबाट हरिनारायण गौतम रहेका छन् । यस पुरस्कार धौलागिरि अञ्चललाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका मध्ये प्रत्येक वर्ष एक पत्रकारलाई नगद १५ हजार १ सय १५ सहित सम्मान गरिदै आएको महासंघले जनाएको छ ।
ढोरपाटन दैनिक