७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर

sarusaru
१५ माघ २०७५, मंगलवार १०:११

काठमाडौं, १५ माघ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने,‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि जिकिर गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए । उनले भने,‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।’
उनले वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप लगाए । उनले भने,‘सरकार जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मुल्यवृद्धि भएको बेलामा, हत्या, हिंसा, बलात्कार, माफीया, भ्रष्टाचार र जति नहुनुपर्ने अपराधहरुको संरक्षक स्वयम प्रधानमन्त्री बनिरहेको बेलामा, सरकार निरीह र अलोकप्रिय भैरहेको बेलामा विश्वविद्यालयका विद्यार्थीहरुलाई थाहा छ, कम्युनिष्ट सरकार कहीँ अब जनताका अधिकारप्रति पनि धावा बौल्दै छैन भनेर ?’
स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागद नभएको पनि उनले उद्धघोष गरे । उनले भने,‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन् । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो ।’
नेविसंघका महामन्त्री कपिलेश्वर यादव अहिलेपनि अस्पतालमै उपचारार्थ रहेको उनले सुनाए । उनले भने,‘उहाँको टाउकोमा १४ टाँका लगाईएको छ । दिन दिनै विद्यार्थीहरुमाथि धरपकड भैरहेको छ । विद्यार्थीको टाउको फुटाईएको छ । यो अवस्थामा सरकार स्वयम् निर्वाचनबाट भाग्नको लागि उद्धत भएको हाम्रो ठहर छ।’
अध्यक्ष महरले स्ववियु निर्वाचनबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब एक घण्टा छलफल गरेको सुनाउँदै आफूले नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार रहेको कुरा स्पष्टसँग राखेको जनाए । उनले भने,‘तर, सडकमा तपाईले विद्यार्थीको टाउकोमा लाठी बर्साउने, टाउको फुटाउने, अस्पतालनै भर्ना गर्ने बनाउने, विद्यार्थीलाई जेलभित्र हालेर स्ववियुको निर्वाचन सम्भव छ ? यो तरिकाले स्ववियुको निर्वाचन हुन सक्दैन भनेर मैले प्रधानमन्त्रीलाई भनिसकेको छु । त्यसैले निर्वाचनको वातावरण बनाउने काम विश्वविद्यालयको कुलपति भएको कारणले प्रधानमन्त्रीको पनि हो ।’
निर्वाचनको लागि प्रधानमन्त्रीले शान्ति, सुरक्षाको वातावरण बनाउनुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार फागुण १४ गते स्ववियुको निर्वाचन हुन नदिने गतिविधिमा लागेको पनि आरोप लगाए । उनले भने,‘परिस्थिति बबण्डरयुक्त बनाएर र प्रधानमन्त्रीको विरुद्धमा विद्यार्थीलाई जुलुश र पुत्ला दहन गर्न लगाउने परिस्थिति बनाएर निर्वाचन भाँड्ने काममा सरकार लागेको छ। सरकारले यो काम नियन्त्रण गरेर अमन–चयन गर्नतिर लाग्यो भने स्ववियुको चुनावका लागि नेविसंघ तयार छ ।’
उनले वर्तमान सरकारले निर्वाचित सबै संस्थाहरुलाई ‘कोल्याप्स’ गरेर निरंकुश व्यवस्था चाहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘त्यसको सुरुवात सरकारले स्ववियु निर्वाचनबाट गर्न खोजिरहेको छ।’
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको गम्भिर आरोप लगाएका छन् । उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए । उनले भने,‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’
विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’
नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको गम्भिर आरोप छ । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ काम गरेको आफूहरुले पाएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ । तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्छ भने यो शोभनीय हुँदैन् ।’
स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुनेपनि उनले तर्क गरे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने,‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन् ।’ उनले आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुण १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको उनले व्यंग्य कसे ।
उनले नेविसंघले कृत्रिम मुद्दा उचालेर र यो वा त्यो बहाना बनाएर स्ववियु निर्वाचनबाट भाग्न लागेको आफूहरुलाई संशय भएको पनि आरोप लगाए । उनले भने,‘तिललाइ पहाड नबनाउनुहोस् । म फेरि पनि दोहोर्याएर भन्छु स्ववियुको निर्वाचन निर्धारित मितिमा हुनुपर्छ ।’
निर्धारित मितिमै निर्वाचन गराउन आफूहरुले कदम चाल्नेपनि उनले जनाए । तामाङले भने,‘स्ववियुको निर्वाचन समयमै हुन सकेन भने विश्वविद्यालयको पदाधिकारी परिवर्तन होलान् । तर, स्ववियु निर्वाचनको मिति परिवर्तन हुँदैन् । क्याम्पस प्रमुखहरु परिवर्तन होलान्, तर निर्वाचनको मिति चेन्ज हुँदैन् ।’
प्रधानमन्त्रीले अहिले पक्राउ परेका नेविसंघका विद्यार्थीहरुलाई पनि रिहाई गर्ने र स्ववियु निर्वाचनको लागि शान्ति, सुरक्षाको वातावरण सरकारले बनाउँछ भनेर विश्वास दिलाईसकेको पनि तामाङले जानकारी गराए ।