१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यातायात व्यवसायीको मनोमानी नियन्त्रण गर्न माग

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७३, शुक्रबार १३:०६

काठमाडौं । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध शुक्रबार सकियो । सोह्र श्राद्ध सकिएसँगै नौरथा सुरु हुँदैछ । आज आश्विन शुक्ल प्रतिपदाका दिन तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकको सम्झनामा श्राद्ध गरिने चलन छ । गत आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध अन्तर्गत सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्डदान गर्ने गरिन्छ । ज्ञात, अज्ञात सबै पितृको श्राद्ध गरिने भएकाले आजको दिनलाइ सर्व पितृ मोक्ष औंसी समेत भनिन्छ । यस दिनलाई सोह्र श्राद्धको सवैभन्दा महत्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, ऋढि, देवघाट लगायत अन्य धार्मिक स्थलमा गएर श्राद्ध गर्ने चलन रहेको छ ।
यसैबीच, दशैँ नजिकिएसँगै काठमाडौं छाड्नेको संख्या बढ्न थालेको छ । गत २४ घण्टामा विभिन्न नाका भएर ८१ हजार सात सय ९२ जना काठमाडौं बाहिर गएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यता, सांसदहरुले समसामयिक विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको जारी बैठकमा सांसदहरुले संविधान संशोधन, सार्वजनिक यातायात, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराएका हुन् । नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद रवीन्द्र अधिकारीले दसैंका बेला सवारी व्यवस्थापन गर्नुपर्ने सरकार मुकदर्शक बनेको आरोप लगाउँदै व्यवसायीको मनोमानीका कारण यात्रुले टिकट नपाएको दावी गरे ।
धेरै यात्रु चढाउन नपाए गाडी नचलाउने भन्ने व्यवसायीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै उनले सरकार र व्यवसायीको मिलेमतो रहेको आरोप पनि लगाए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट प्रतिनिधित्व गर्ने सांसद योगेन्द्र चौधरीले भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्कमल दाहाल र टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीबीच भेट भएको पुष्टि गर्दै सो भेटलाई अनावश्यक उचाल्न जरुरी नरहेको तर्क गरे । त्यस्तै, सत्तारुढ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद देवनारायण कलवारले असी प्रतिशत जनताले बुझ्ने हिन्दी भाषालाई राष्ट्रभाषा बनाइयोस् भन्ने माग गरे । हिन्दीलाई राष्ट्रभाषा कायम गर्नेगरी संविधान संशोधन प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ थियो ।