१५ चैत्र २०८०, बिहीबार
Follow Us

शहिद दुर्गानन्द झाः जसले राजा महेन्द्रमाथि बम प्रहार गरे

sarusaru
१६ माघ २०७५, बुधबार ०७:०७

जनकपुरधाम स्थित जानकी मन्दिर प्राङ्गणमा वि.सं. २०१८ साल माघ ९ गते तत्कालिक राजा महेन्द्र शाहमाथि यूवा दुर्गानन्द झाले बम प्रहार गरेपछि राजनीतिक कोर्षको एक अध्याय परिवर्तन हुने कुरा प्रायः सुनिश्चितता भएको दिनको रुपमा माघ ९ गते अर्थात आजको दिनलाई लिइने गरिन्छ ।

वि.सं. १९९७ सालका ४ अमर शहीद झैँ वि.सं. २०२० पुस १० मा अदालती निर्णय तत्कालीन राजाबाट सदर गरिएपछि शहीद सप्ताहकै छैटौं दिनमा वि.सं. २०२० माघ १५ मा २२ वर्षको उमेरमा नेपालको इतिहासमा पहिलो पटक एक ब्राह्मण जातका यूवालाई मृत्युदण्ड दिइएको थियो ।

अमर शहीद दुर्गानन्द झा समेतले अनेकन आन्दोलन, सशस्त्र आन्दोलनमा हजारौँ हजार वीर शहीदका बलिदानले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

वि.सं. १९९९ साल वैशाख १४ मा तत्कालीन महोत्तरी जिल्ला अन्तर्गत नेपाल–भारत सिमानाको जटही गाउँमा शहीद दुर्गानन्द झाको जन्म भएको थियो ।

जटहीका देवनारायण झा र श्रीमती सुकुमारीदेवी झाको एकमात्र सुपुत्र दुर्गानन्द झा बाल्यकालमै रहँदा उनको पिताको निधन भएकाले दुर्गानन्दको शिक्षा–दीक्षा माता सुकुमारी देवीको रेखदेखमा भयो । उसबेला नेपालमा विद्यालय नरहेकाले सीमापारिको उमगांव स्थित दीनदयाल माध्यमिक विद्यालयमा पढाइ भयो । बाल्यकालदेखि नै अरूभन्दा आफ्नो विशिष्टता प्राप्त गर्ने विचार राख्ने दुर्गानन्द सूरो दिमागका र उनी जुन काममा लागे त्यो गरेरमात्र छाड्थे ।

आमाको रेखदेखमा गाउँमा रहेकै विद्यालयबाट प्राथमिक तहको शिक्षा तथा जटही सिमाक्षेत्र देखि ५ किलोमिटरको दुरीमा रहेको भारतीय अवस्थित उमगाँवमा दिनदयाल हाई स्कुलबाट समेत उनले शिक्षादीक्षा लिए । घरको एक्लो सन्तान भएकाले मेट्रिकमा पढ्दापढदै २०१७ सालमा विवाह पञ्चमीको दिन काशीदेवी झासंग दुर्गानन्द झाको विवाह भयो । दुर्गानन्दको विवाह कलिलो १७ वर्षको उमेरमा कुम्हरौडाकी १४ वर्षीया काशीदेवी सित भएको थियो ।

एक वर्षसम्म सुखद दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतान्त्रिक संघर्षमा लागेकाले घरमा एक्ली दोइजो श्रीमती र वृद्ध आमा दुर्गानन्दको व्यवहारबाट चिन्तित रहेकाले आवश्यक हेरचाह नभएर शिशु मृत जन्मे । शहीद दुर्गानन्दको परिवारमा वि.सं. २०६० साल भाद्रमा वृद्ध आमाको निधनपछि उनको जिवनसंगिनी घरपरिवारमा एक्ली काशीदेवी झा मात्र जिवित छन्् ।

दुर्गानन्दको राजनीति यात्रा र मृत्यूवरण

वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा कांग्रेसले देशव्यापीरुपमा क्रान्ति थालेको थियो ।

छिमेकी देश भारतमा पनि देशलाई आजादी दिलाउनका लागि अंग्रेज विरुद्ध कडा संघर्षहरु चल्दै थियो । स्वतन्त्रता संग्रामका वीर भतग सिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द झाले प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनः स्थिती तय गरिसकेका थिए । दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग रहि रहे ।

भारत विहारको मधुवनी जिल्लामा पर्ने उमगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको कांग्रेसका निर्वासित नेताहरुका सम्पर्कमा उनी पुगे । त्यसैक्रममा प्रतिबन्धित दल कांग्रेसले ठाउँठाउँमा राजाको ‘कु’ को विरुद्धमा उत्रेका थिए । वि.सं. २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर सवारी हँुदा उनी चढेको गाडीमाथि बम प्रहार गर्ने योजना बनाइएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गरे ।

वि.सं. २०१८ माघ ९ गतेको दिन राजा महेन्द्र विराटनगरबाट विशेष विमानद्वारा जनकपुर विमानघाटमा पुग्ने कार्यक्रम थियो । विमानस्थलमा राजा ओर्लनुपूर्व नै अरविन्दकुमार ठाकुर बम सहित पक्राउ परिसकेका थिए । त्यतिबेला राजा महेन्द्रको यात्रा पाँच घण्टा सम्म रोकिएको थियो र कडा सुरक्षा व्यवस्थापछि राजा महेन्द्र जनकपुरधाम स्थित जानकी मन्दिर पुग्दा जानकी चोकमा गाडी रोकिनासाथ दुर्गानन्दले बम प्रहार गरेका थिए । हजारौँ सेना र प्रहरी सशस्त्रधारीहरूका कडा सुरक्षा बीचमा राजा चढेको गाडीमा बम प्रहार गरेर पनि उनी पक्राउ परेनन् तरपनि राजा बाँच्न सफल भए । यस घटनाका फलस्वरूप विश्वभरि नै प्रजातन्त्रप्रति नेपाली जनताको आवाज गुञ्जयमान भयो । त्यो राति जनकपुरधाममै आफ्ना गाउंँले मित्र हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको डेरामा रात बिताएर भोलिपल्ट सीमापारि दुर्गानन्द गए ।

जनकपुर बम काण्डको नाममा ५६ जना समातिएका थिए । पक्राउ परेकाहरूलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको खबर पाउँदा दुर्गानन्दले भारतमा निर्वासित बस्नु उपयुक्त ठानेनन् । निर्वासनमा काँग्रेसले उनलाई रहने, बस्ने र अगाडि पढ्ने सबै व्यवस्था मिलाउँदा पनि उनले बम काण्डको नाममा निर्दोष मानिस दुःख पाइरहेको पीडा सहन गर्न नसकेर एक दिन जयनगरमा नेपाली रेलबाट जनकपुर फर्के र आफ्नो गिरफ्तारी स्वयम् दिएको थियो । यसको केही समयपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको थियो ।

सरकारले यो बम काण्डसम्बन्धमा विशेष अदालत न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहेको एक आयोग गठन गरेको थियो । आयोगले कुनै पुर्पुक्ष नै नगरी २०१९ भदौ १९ मा दुर्गानन्द झालाई फासी र तथा अरविन्दकुमार ठाकुुर र दलसिंह थापालाई जन्मकैद दिने निर्णय गरेको थियो ।

राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । यसैबीच प्रहरी उपरिक्षक मानबहादुर राई दर्जनौं प्रहरीको नेतृत्व गर्दै धनुषा स्थित परवाहा गाउँको रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेलबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा पठाइयो । गिरफ्तारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइयो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजायको निर्णय सुनायो । वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याइयो । फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र उनको आमा र जिवनसंगिनीलाई कारागारमा बोलाई भेट गर्न दिइएको थियो । केही बेरको भेटमा उनले आमालाई भनेका थिए, दुर्गानन्द झाले– नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । र हजारौँ मजस्ता दुर्गानन्दहरु यो देशले पाउने छन् ।