१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा. केसीसंग संवाद शुरु गर्न नेपाल सरकारलाई प्रा. सुवेदीको आग्रह

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार ०९:०१

लन्डन । ब्रिटेन नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले नेपालको जनआन्दोलन लगायतका सबै उतारचढावमा नेपाली जनतालाई निरन्तर सहयोग गर्दै आएको प्रवासी नेपाली बौद्धिक समुदाय नेपालमा बढ्दो भ्रष्टाचार, शिक्षालाई सेवा भन्दा व्यापारको रुपमा हेर्ने प्रवृत्ति र डा. गोविन्द केसीसंग सरकारको संवाद शुन्यताको स्थितिबाट चिन्तित भएको बताएका छन् ।

प्रा. सुवेदीले डाले मंगलवार एक विज्ञप्तिजारी गर्दै केसीका मागहरु मुलतः चिकित्सा क्षेत्रको बेथितीसंग छ तर नेपालको सम्पूर्ण उच्च शिक्षा क्षेत्र नै बेथितीको शिकार भएको जनाए ।
उनले हालै संसदबाट पारित चिकित्सा शिक्षा ऐन लगायतका उच्च शिक्षा क्षेत्र सम्बन्धि सबै ऐन कानुनको पुनरावलोकन गरि दीर्घकालिन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसंग आग्रह गरेका छन् ।
विज्ञप्तिमा विद्यार्थीलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्ने प्रवृत्ति र विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागवण्डा गर्ने प्रवृत्तिको अन्त्य गर्ने अठोटका साथ सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरिय आयोग गठन गर्ने आश्वासन र प्रस्तावसहित डा. केसीसंग सम्वाद शुरु गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।