७ बैशाख २०८१, शुक्रबार
Follow Us

नागरिकतासम्बन्धि विधेयक विवादमा

नेपालब्रिटेन डट कम्
१६ माघ २०७५, बुधबार १०:४६

काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले टुंगो लगाइसकेको भनिएको नागरिकतासम्बन्धि विधेयक विवादमा तानिएको छ ।
सो विधेयकमा विदेशी नागरिक समेतले नेपाली नागरिकता पाउने देखिएको भन्दै नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।
असन्तुष्ट नागरिक समाजका अगुवाहरुले बुधबार सभामुख कृष्णबहादुर महरालाई भेटेर ज्ञापनपत्र ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा नागरिकता सम्बन्धि विधेयकमा विदेशी नागरिकले पनि नागरिकता लिन सक्ने प्रावधान राखिएकोमा आपत्ति जनाउँदै सो विधेयक तत्काल खारेज गर्न माग गरिएको छ ।
सरकारले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न विधेयक तयार पारी संघीय संसदमा पेश गरेको छ । सो विधेयकमा विदेशी नागरिकले पनि नागरिकता पाउने प्रावधान रहेकाले त्यसलाई खारेज गर्न सरकारलाई सचेत गराउन सभामुख महरालाई आग्रह गरिएको नागरिक समाजका अगुवा सूर्यनाथ उपाध्यायले जानकारी दिए ।
नागरिक समाजका अगुवाहरुले २०६३ सालको नेपाल नागरिकता ऐनबाट विदेशीले पनि नागरिकता लिएकाले त्यसको छानवीनका लागि सर्वशक्तिमान नागरिकता छानवीन आयोग गठन गर्न पनि सरकारलाई निर्देशन दिन सभामुख महरासँग आग्रह गरेका छन ।

नागरिक समाजका अगुवाहरुले गत पुस २८ गते बसेको एक भेलाले २०६३ सालमा जारी गरेको नागरिकता ऐनबाट विदेशी नागरिकले पनि नागरिकता लिएको निष्कर्ष निकाल्दै त्यसलाई छानवीन गरेर मात्रै नागरिकता सम्बन्धि विधेयकलाई संशोधन गर्न सरकारलाई सचेत गराउन सभामुख महराको ध्यानाकर्षण गराएका हुन ।

यता, सभामुख महराले पनि सो विधेयक विवादमा परेको उल्लेख गर्दै त्यसमा आवश्यक छलफल गर्ने बताए ।