१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आलु उत्पादन बढेपछि उपभोक्तालाई राहत

sarusaru
१६ माघ २०७५, बुधबार ११:२४

वीरगञ्ज – अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्सा जिल्लामा रु चार करोड ५४ लाख ४० हजार मूल्य बराबरको दुई हजार ८४० मेट्रिक टन बढी आलु उत्पादन भएपछि उपभोक्ताले राहत पाएका छन् । प्रायः यस भेगका उपभोक्ता चर्को मूल्य तिरेर भारतीय तथा पहाडको आलु खान बाध्य भएकामा यस वर्ष बढी आलु उत्पादन भएपछि उपभोक्तालाई राहत भएको वीरगञ्ज महानगरपालिका–२७ रामगढवाका शेषमन पण्डितको भनाइ छ ।

यस वर्ष पर्सा जिल्लाका किसानले एक हजार १५० हेक्टर क्षेत्रफलमा आलु खेती गरेकामा रु ३६ करोड ८० लाख मूल्य बराबरको २३ हजार मेट्रिक टन आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । गत वर्ष पर्साका किसान एक हजार १२० हेक्टर क्षेत्रफलमा आलुखेती गरी २० हजार १६० मेट्रिक टन आलु फलाएका थिए ।

हिउँदमा पानी नपरेको तथा समयमा आलु रोपाइँ गरेकाले किसानले यस वर्ष प्रतिहेक्टर २० मेट्रिक टन आलु उत्पादन गरेको ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले राससलाई बताउनुभयो । पश्चिमी पर्साको बिरुवा गुठी, बेलवा, भिखमपुर गादीमा किसानले व्यवसायी रुपमा कुण्डी, सिचरी, लालगुलाब ३४ र गाढा जस्ता उन्नत जातको आलु खेती गर्दै आइरहेका छन् ।

पहिला सरकारले किसानलाई अनुदानमा आलुको बीउ उपलब्ध गराउँदै आएकोमा अहिले स्थानीय सरकारले सो अनुदान बन्द गरेकाले सरकारी सुविधाबाट वञ्चित हँुदै आएको अर्का किसान अजय पण्डितको भनाइ छ । प्रतिदिन करीब रु पाँच लाखको आलु वीरगञ्ज बजारमा स्थानीय आलु बिक्री हुन थालेपछि भारतीय तथा पहाडका आलु विस्थापित हुँदै गएको छ ।

यसपालि अत्यधिक मात्रामा आलु उत्पादन भएकाले भाउ घटेपछि यसको व्यापार भने बढ्न नसकेको मीनाबजारका आलु व्यापारी चन्द्रिकाप्रसाद रौनियारको भनाइ छ । किसान एकाबिहानै ट्र्याक्टर, टायर गाडामा राखी आलु लिएर वीरगञ्जमा बेच्न आउन थालेपछि यसको व्यापार सहज भएको छ ।

स्थानीय बजारमा थोक तथा खुद्रा गरी करीब १०० को हाराहारीमा आलु व्यापारी रहेका छन् । स्थानीय बजारमा अहिले नयाँ आलु प्रतिकिलो रु १३ को दरले बिक्री हुँदै आएको छ ।
रासस