११ बैशाख २०८१, मंगलवार
Follow Us

चेल्सीको लज्जास्पद हार, लिभरपुलले लेस्टरसँग बराबरी खेल्यो

नेपालब्रिटेन डट कम्
१७ माघ २०७५, बिहीबार ०३:१०

इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अर्को खेलमा चेल्सी बर्नमाउथसँग ४–० गोलले पराजित भयो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुलले सुरुवाती अग्रता लिएरपनि बराबरीमा चित्त बुझाउन बाध्य भयो । साडियो मानेले खेलको तेस्रो मिनेटमा गोलगर्दै लिभरपुलको उत्साह बढाएका थिए । तर, पहिलो हाफमै इन्जुरी समयमा लेस्टरका ह्यारी म्यागुरेले गोलगर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो ।

यस बराबरीपछि लिभरपुलले आफ्नो शीर्षतालाई थप बलियो बनाउने मौका गुमाएको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले माथि छ । लिभरपुलको २४ खेलबाट ६१ अंक बनाएको छ । सिटीको ५६ अंक छ ।

यसैगरी चेल्सीलाई लज्जास्पद हार चखाउन बर्नमाउथका जोसुवा किङले ४७ औं र ७४औं मिनेटमा दुई गोल गरे । डेभिड ब्रोक्सले ६३औं र चार्ली डाानियल्सले ९०औं मिनेटमा एक एक गोल थपेका थिए । हारसँगै चेल्सी पाँचौं स्थानमा झरेको छ । चेल्सीको ४७ अंक छ । ३३ अंक बनाएको बर्नमाउथ १०औं स्थानमा छ ।

यसैगरी बुधबार राति नै भएको अर्काे खेलमा टोट्टनहामले वाटफोर्डलाई २–१ गोलले हरायो । खेलमा वाटफोर्डका क्रेइग काथकार्टले ३८औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि टोट्टनहामले दास्रो हाफमा दुई गोल गर्दै जित निकालेको थियो । टोट्टनहमका ह्युङ मिन सनले ८०औं र फर्नान्डो लोरेन्टेले ८७औं मिनेटमा गोलगर्दै टोट्टनहमको जित पक्का बनाए ।

जितसँगै तेस्रो स्थानमा रहेको टोट्टनहामले ५४ अंक बनाएको छ । टोट्टनहाम दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले पछि छ ।