उपसचिवको सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारी समायोजन

  १७ माघ २०७५, बिहीबार १६:०४ मा प्रकाशित

काठमाडौँ– सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए ।
फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले नै समायोजनको पत्र प्रिन्ट गरिने उनले बताए ।

करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँन्छन् । यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजनको लागि स्वीकृत गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ ।
सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए ।

प्रतिक्रिया