७ बैशाख २०८१, शुक्रबार
Follow Us

घूस लिएको अभियोगमा जिल्ला अदालतका नायब सुब्बा पक्राउ

sarusaru
१८ माघ २०७५, शुक्रबार ०२:१२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई बबरमहलबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालयका आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले परीक्षामा अनुत्र्तीण भएका तथा ट्रायलमा समेत असफल भएका ६२९ सवारी चालकलाई गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र दिएको पाइएको छ । गत साउन १६ गतेदेखि असोज २४ गतेसम्म एकान्तकुना कार्यालयबाट विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा असफल भएका र अनुपस्थित भएकालाई समेत सवारी चालक अनुमतिपत्र दिएको पाइएको आयोगले जनाएको छ ।

सवारी चालक अनुमति पत्र जारी गर्ने समेतका कार्यमा संलग्न यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय, वाग्मती एकान्तकुनामा कार्यरत शाखा अधिकृतहरु भक्तबहादुर विष्ट, विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय ठूलोभ¥याङ काठमाडौँका कम्प्युटर अधिकृत विजेन्द्रराज जोशी, कम्प्युटर अपरेटरहरु जयनारायण चौधरी र सचिनकुमार सिंहविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै तत्कालीन यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना हाल कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह, हाल मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम वनमाला र हाल प्रदेश नं २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साहसमेत आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
डिसी नेपाल