१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु

sarusaru
१८ माघ २०७५, शुक्रबार ०५:१७

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु गरेको छ ।

महाशाखाले सडक विभागसँगको सहकार्यमा सडक प्रयोगकर्तालाई लक्षित गरी आजदेखि सडक सुरक्षा अभियान शुरु गरेको हो । ट्राफिक प्रहरी, जनपथ प्रहरी, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र समुदायको सहयोगमा उक्त अभियान शुरु गरिएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमअन्तर्गत सडक विभागसँग मिलेर उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए।

“अभियानअन्तर्गत चालक, सहचालक, यात्रु र पैदलयात्रुलाई पर्चा, पम्प्लेट, ब्रोसर वितरण गरेर कक्षा सञ्चालन गरेका छौँ,” उनले भने । अभियानसँगै सडकमा हुने दुर्घटनामा कमी आउने लक्ष्य महाशाखाले लिएको छ ।

अभियान सातदोबाटो, लगनखेल, जावलाखेल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, नयाँ बसपार्क, कलङ्की, थानकोट, जगातीलगायतको स्थानमा सञ्चालन गरिने महाशाखाले जनाएको छ।अभियानअन्तर्गत यातायात सञ्चालनका क्रममा देखिएका समस्याको अध्ययन गरी समस्या समाधान गर्न सम्बन्धित निकायलाई जानकारी गराउने लक्ष्य राखिएको छ ।

महाशाखाले भाडामा जान नमान्ने तथा मिटरमा नहिँड्ने ६७ ट्याक्सीलाई आज कारवाही गरेको छ । महाशाखाको टोलीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, बिग्रेको मिटरसमेत नबनाउने ट्याक्सीलाई कारबाही गरेको महाशाखा प्रमुख पन्तले बताए ।
डिसी नेपाल