७ बैशाख २०८१, शुक्रबार
Follow Us

कहाँ छैनन् नेपाली ? बंगलादेशमा नेपालीमूलका वीरबहादुर मन्त्री नै बने

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार ०२:४४

बंगलादेश — बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे ।

यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन््– ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’

नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले बहुमत हासिल गरेपछि जनवरी ७ मा नयाँ मन्त्रिमण्डल गठन भएको थियो । वीरबहादुरलाई चितागोङ ९चटगाव० हिल ट्रयाक्ट्स अफेयर्स मन्त्रीको जिम्मेवारी दिइएको छ ।

बंगलादेशको उत्तरीपूर्वी सीमामा खाग्रासरी, रांगामाटी र वान्दरवन जिल्ला छन् । यी तीनै जिल्लाको साँधसीमा भारत र म्यानमार ९बर्मा० सँग जोडिन्छ । हालै सम्पन्न ११ औं संसदीय निर्वाचनमा वान्दरवन क्षेत्रबाट विजयी बनेपछि वीरबहादुर छैटौं पटक सांसद बने । सँगै पहिलो पटक क्याबिनेट मन्त्री पनि । उनले यही क्षेत्रबाट सन् १९९१ मा पहिलोपटक सांसद जितेका थिए । त्यसपछि वीरबहादुर सन् १९९८ मा सहायक मन्त्री र २००८ मा राज्यमन्त्री बनिसकेका थिए ।
वीरबहादुर मन्त्री बनेपछि बंगलादेशको अखबार ‘एसियन एज’ले गत जनवरी २० को अंकमा उनको राजनीतिक योगदानको चर्चा गर्दै कभरेज गरेको थियो । अखबारका अनुसार सन् १९७६ मा वीरबहादुरले वान्दरवन सरकारी स्कुलबाट माध्यमिक पढाइ सके । त्यसपछि उच्च शिक्षाका लागि चितागोङ ९चटगाव० सरकारी कलेज भर्ना भए । यही क्रममा विद्यार्थी संगठन बंगलादेश छात्र लिगमा आबद्ध भए । पछि छात्र लिगको सचिव बने । पढाइसँगै राजनीतिमा आबद्ध वीरबहादुरले राजशाही विश्वविद्यालयवाट राजनीतिकशास्त्रमा मास्टर्स गरे । सन् १९९२ मा उनी अवामी लिगमा पूर्ण रूपमा आबद्ध भइसकेका थिए ।
सन् १९६० जनवरी १० मा पहाडी जिल्ला वान्दरवनमा जन्मिएका वीरबहादुरका पिताको नाम लालमोहन बहादुर हो । आमाको नाम मा छोइ हो । वीरबहादुरकी आमा बंगलादेशी आदिवासी मार्मा समुदायकी हुन् । वान्दरवन क्षेत्रका नेपालीभाषीका अनुसार वीरबहादुरका पिता लालमोहन बहादुर ब्रिटिस शासनकालमा गोर्खा सैनिकका रूपमा नेपालबाट आएका थिए । उनी नेपालको कुन ठाउँबाट आएका थिए भन्नेबारे यहाँका नेपालीहरूलाई थाहा छैन । -कान्तिपुरबाट