६ चैत्र २०८०, मंगलवार
Follow Us

बाबुको बाटो हेर्दै टोलाउँदै : ईश्वरले दिएको चोट

sarusaru
१९ माघ २०७५, शनिबार ०३:१३

.बेनी नगरपालिका–९, नेप्टेचौर म्याग्दीका सात वर्षिय वालक बिप्सन चोखाल आफ्नै आँगनको डिलमा उभिएर बाबु गएको बाटो हेरिरहेका थिए । ‘अवत हाम्रो बाबा फर्किनु हुन्न होला है ?’ उनको प्रस्नले त्यहाँ उपस्थित सबैलाई एकैछिन् मौन बनायो ।

प्रस्नको उत्तर दिने क्षमता कसैसँग पनि थिएन । परिवारसँग हाँसी खुशी बिदा भएर २०७५ माघ १६ गते घरबाट पोखरा हिँडेका ३१ वर्षिय हरिबहादुर चोखाल कहिल्यै नफकर्ने त्यो ठाउँमा पुगे, जुन ठाउँमा पुगेको जो कोहीपनि अहिलेसम्म फर्केको छैन । कारण हर्टट्याक थियो । परिवारको एक्लो साहारा, उनैको निधन पस्चात् एघार वर्षिय बिबेक र सात वर्षिय विप्सन बाबुबिहिन बनेका छन् भने श्रीमती अञ्जना चोखाल र ८० वर्षिय आमा मनकुमारी चोखालले बुढेसकालको साहारा गुमाएका छन् ।

राम्रोसँग कान पनि सुन्न नसक्ने आमा छोरालाई सम्झिएर भक्कानिएकी छन् । हर समय उनको गह आँसुले भरिएको छ । यतिवेला नेप्टेचौरको चोखाल परिवार मात्र होइन सिङ्गो गाउँ नै शोकाकुल बनेको छ । जन्मिएको एकवर्षमा आगोमा परि दाहिने हात पोलिएका उनी शारिरिक रुपमा समेत अशक्त रहेका थिए । शारिरिक रुपमा अशक्त भएपछि आय आर्जनमा उत्तिकै समस्या थियो ।
एक वर्ष पहिलेदेखि राष्ट्रिय मावि घतानमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका उनले बुढी आमालाई दुःध ख्वाउन भनेर भैसी किन्नको लागि भएको घरको छाप्रो र एउटा सानो खेतको टुक्रा बेनीमा अवस्थित धवलागिरी सहकारीमा धितो राखी एक लाख ऋण लिएका थिए ।

ऋण तिर्न नसकेर भाका नाघेको पनि एक महिना भैसक्यो । छिटै लिलामी हुन्छ रे !’–लिलामी हुँदै गरेको घर र नजिकै रहेको सानो खेतको गह्रा देखाउँदै बताउँछन् स्थानीय रामबहादुर चोखाल । एघार वर्षिय जेठो छोरा विवेक बाबुको किरिया बसेका छन् । उनको अनुहार बादलिएको आकासभन्दा पनि मलिन देखिन्छ । आमा, सानो भाइ र बुढी हजुरआमालाई हेर्नेे जिम्मेबारी उनीमाथि थपिएकोे छ ।
आँगनको डिलमा बसेर बाबु गएको बाटो नियाल्दै गरेका कान्छो छोरा बिप्सनलाई हामी सोध्छौं– ‘कति कक्षामा पढ्छौ नि बाबु ?’ ‘बेलुका खाने भात छैन अब स्कुल कसरी पढ्ने ?’ अझैपनि बाबु फर्किने आशमा रहेका बिप्सन बोल्छन् । बिहान खाए साँझ के खाम भन्ने उनको घरको अवस्था निकै दयनिय देखिन्छ । किरिया उम्काउने खर्च समेत नभएको सिर्जनशील युवा क्लवका अध्यक्ष शङ्कर चोखाल बताउँछन् । उनी भन्छन्– ‘सहयोगी हातहरु पाउन पाए यो परिवारको उद्धार गर्न सकिन्थ्यो कि !’ यदि तपाईहरु कसैले सहयोग गर्न चाहानुहुन्छ भने क्लवका अध्यक्ष शंकरको मोवाइल ९८५७६२२९८७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
बेनी अनलाईन