१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जेलबाट ह्वाटस्एपमा म्यासेज पठाएर प्रतिष्ठित पुरस्कार

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार ०५:५६

बीबीसी । डुंगामा चढेर अष्ट्रेलिया शरण खोज्न जादाँ पक्राउ परेर वर्षौदेखि बन्दी एक शरणार्थीले सो देशको सबैभन्दा ठूलो राशीको साहित्यिक पुरस्कार जितेका छन् ।
बेहरुज बूचानी इरानी कुर्द हुन् । पेसाले पत्रकार । अष्ट्रेलियाले मानुस टापूको हिरासत केन्द्रमा बन्दी बनाएर राख्दा त्यहाँको अवस्थाबारे उनले ह्वाटस्एपबाट लेखेर एक साथीलाई पठ्याउथें । सो सामाग्रीहरुलाई संकलन गरेर ‘नो फ्रण्ड बट द माउण्टेन’ पुस्तक नै बन्यो ।
सोही पुस्तकले अहिले आएर सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन प्राइज जितेको छ । यो पुरस्कारको राषी १ लाख अष्ट्रेलियन डलर रहेको छ । यो अष्ट्रेलियाको सबैभन्दा बढी पुरस्कार राषी भएको साहित्यिक पुरस्कार हो ।
हुनत उनले पुस्तक लेखेको विवादास्पद हिरासत केन्द्र सन् २०१७ को अन्त्यबाट बन्द भइसकेको छ तर बूचानी अहिले पनि पपुवा न्यू गिनीको मानुस टापूमा अल्झिरहेका छन् । उनी र अन्य सयौंलाई सोही टापूको वैकल्पिक आवासमा सारिएको छ ।
उनलाई अष्ट्रेलियामा प्रवेश अनुमति छैन । डुङा चढेर अष्ट्रेलिया प्रवेश गर्न खोज्नेहरुविरुद्ध अष्ट्रेलियाले कडा निति अगिंकार गरेको छ । पक्राउ परेका व्यक्तिहरु साच्चैको शरणार्थी रहेछन् भने पनि भविष्यमा समेत अष्ट्रेलिया नपाउने गरि फर्काइन्छ ।
अष्ट्रेलियाले समुन्द्र हुदैं आउन सक्ने ठूलो संख्याको आप्रबासीहरुलाई निरुत्साहित गर्नको लागि यो कदम आवश्यक भएको बताउदैं आएको छ ।
साहित्य तर्फको भिक्टोरिया प्राइज पुरस्कार सँगसँगै ‘नो फ्रेण्ड बट द माउन्टेन’ले भिक्टोरिन प्राइमर साहित्य पुरस्कारको गैर आख्यानतर्फको पुरस्कार पनि जितेको छ । यसको शाशि अष्ट्रेलियन डलर २५,००० रहेको छ ।
बाँकी विजेताहरु मेलबर्नमा उत्सव मनाइरहदाँ मानुस टापूबाट बीबीसीसँग कुरा गर्दै बूचानीले पुरस्कारले आफूलाई ‘निक्कै अनौठो अनुभुति गराएको’ लेखेका छन् ।

“एक हिसाबमा म निक्कै खुसी छु किनकि हामीले यो अवस्थाप्रति ध्यान तान्न सकेका छौं र धेरै मानिसहरु यो अवस्थामा सचेत भएका छन् र यो एक हिसाबले यो निक्कै ठूलो कुरो हो… तर अर्कोतर्फ मलाई खुसी हुने अधिकार छैन लागिरहेको छ किनकि धेरै साथीहरुले यहाँ दुःख पाइरहेका छन् । हामीहरुको लागि पहिलो कुरा भनेको यो टापूबाट स्वतन्त्रता पाउनु र यहाँबाट अन्त कतै जीवन सुरु गर्ने व्यवस्था हुनु हो । ”
हाल बन्द भएको हिरासत केन्द्रमा बन्दी हुदाँ बूचानीले ह्वाटस्एममार्फत अनुवादक ओमिद तोफिघियानलाई फारसी भाषामा पठाइएको म्यासेजहरुलाई समेटेर पुस्तक तयार पारिएको थियो ।

“ह्वाट्सएप मेरो कार्यालयजस्तै थियो,” उनले बताए ,“कागजमा नलेख्नुको कारण प्रत्यक हप्ता अथवा महिना गार्डहरु हाम्रो कोठामा आक्रमणको शैलीमा प्रवेश गर्थे र खोजतलास गर्थे । मलाई आफूले लेखेको कुरा गुमाउनुपर्ला भन्ने पिर थियो । त्यसैले मलाई लेखेर पठाइहाल्नु राम्रो थियो ।”

दक्षिण पूर्वी एशियाबाट डुङ्गामा आउदाँ पक्राउ परेका बूचानी अष्ट्रेलियाको विवादास्पद हिरासत केन्द्र प्रणालीभित्रबाटै आवाज उठाउने सबैभन्दा चर्चित आवाज हुन् ।
उनी नियमित रुपमा ब्रिटिस पत्रिका गार्डियनमा लेख्छन्, मानुसको जीवन बारेमा तारन्तार ट्वीट गर्छन् र अष्ट्रेलियाको कडा नियमको प्रतिरक्षा गर्नेहरुसँग विभिन्न समयमा वहस गरिरहेका हुन्छन् । उनले हिरासतबाटै ‘चउका, प्लिज टेल अस द टाइम’ नामको एक वृत्तचित्र बनाएँ । यसको लागि पनि उनले फोनको नै प्रयोग गरेका थिए ।

अघिल्लो वर्ष, अमेरिकाले मानुस टापू र नाउरुबाट केही शरणार्थीहरुलाई पुनरबास गरायो । १०० भन्दा बढी शरणार्थीहरुलाई त्यस यता पुनरवास गराइ सकिएको छ । तर बूचानी भने केही महिना अघि अमेरिकी अधिकारीलाई दिइएको एक अन्तवार्ता पछि अमेरिकाको सम्पर्कको पर्खिरहेका छन् ।

उनलाई पपुवा न्यू गिनिले शरणार्थी हैसियत दिएको छ । तर अन्य शहरणार्थीजस्तै उनी त्यहाँ बस्न चाहदैनन् । उनका अनुसार उनले पत्रकारिता गर्दा इरानी प्रशासनसँग विवाद भएपछि उनले आफ्नो देश छाड्नु परेको थियो । उनले भनेका छन् ,“जेलमा हाल्लान भनेर मैले इरान छोडें तर जब म अष्ट्रेलिया पुगेँ त्यहाँ त मलाई वर्षौंसम्म जेल हालिदिए ।”

साहित्यको लागि भिक्टोरियन प्राइजमा कुनै कृतिको मनोनयन हुन लेखक अष्ट्रेलियाको नागरिक अथवा त्यहाँको स्थायीवासी हुनुपर्छ । तथापी उक्त साहित्य पुरस्कारको व्यवस्थापन गर्ने ‘द विलर सेन्टर’ले यसका जजहरुको सिफारिसलाई स्वीकारेर बूचानीको पुस्तकलाई अपवाद मान्यो ।
अष्ट्रेलियाका शरणार्थी नीतिहरुको विश्व प्रेसमा व्यापक समेटिएको छ र संयुक्त राष्ट्र र विश्वका मानव अधिकार समुूहहरुबाट आलोचना हुने गरेको छ ।