१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘अल्डरसटमा नेपालीको आफ्नै शिव मन्दिर’

नेपालब्रिटेन डट कम्
१९ माघ २०७५, शनिबार ०६:१२

लण्डन । शिव कल्चरल तथा कम्युनिटी सेन्टरले अल्डरसटमा स्थापना गर्ने शिव मन्दिरको लागि भवन किनेको छ ।

सेन्टरले शुक्रबार भवनको लागि पूरै रकम ३ लाख १ हजार ९० पाउण्ड बुझाएर भवनको स्वामित्व ग्रहण गरेको हो ।
मन्दिरको साँचो बुझ्न शिव कल्चरल तथा कम्युनिटी सेन्टरका पदाधिकारीहरुसंगै मन्दिरको लागि व्यक्तिगत रुपमा सबैभन्दा बढि चन्दा दिने दाता रविजंग लामछिाने, संस्थागत रुपमा सबैभन्दा बढि सहयोग गर्ने साई सेन्टर फार्नबरोकी अध्यक्ष शुष्मा गुरुङसहित योगेन क्षेत्री, सिर्जनशिल नेपाली समाजका अध्यक्ष भक्त दर्जी, एनआरएन यूकेका उपाध्यक्ष शेर सुनार, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्वासे लगायतका विभिन्न संस्थाका प्रतिनिधि र दाताहरुको पनि उपस्थिति थियो ।
स्टेट एजेन्टबाट मन्दिर भवनको साँचो बुझिसकेपछि पण्डित निलहरि घिमिरेले स्वस्ती शान्ति गराएर मन्दिरको ढोका खोलिएको थियो ।


अब मन्दिरमा चतुर्मुखी शिवलिंग, नन्दी लगायतको स्थापना गर्ने र मन्दिरको प्राणप्रतिस्थापन गराउने कार्य सकिएपछि मन्दिरको नियमति गतिविधीहरु सञ्चालन गरिने सेन्टरका अध्यक्ष रोहित गुरुङले जानकारी दिए । जुन कार्य आउँदो ३ महिनासम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ ।

सेन्टरका प्रोपर्टी कोअर्डिनेटर हर्क गुरुङको संयोजनमा भवनभित्र शौचालय, स्टेज लगायतका आवश्यक भौतिक निर्माणको कार्यहरु तत्काल सुरु गरिनेछ । यी सबै कार्यहरुको लागि २० देखि २५ हजार पाउण्डसम्म खर्च लाग्ने अनुमान छ ।

यो भवनलाई मन्दिरका अलावा विभिन्न सामुदायिक गतिविधिहरु सञ्चालन गर्ने एक सामुदायिक केन्द्रका रुपमा समेत प्रयोग गर्ने लक्ष्य छ । सेन्टरका अध्यक्ष गुरुङले भवनको मुख्य प्रयोग मन्दिरको लागि हुने स्पष्ट पार्दै सामुदायिक केन्द्रको रुपमा समेत प्रयोग हुने जानकारी दिए ।

सेन्टरका कोषाध्यक्ष बाचस्पति रेग्मीका अनुसार यसअघि मन्दिरको लागि संकलित ३ लाख २९ हजार पाउण्ड खातामा आइसकेको छ ।