८ बैशाख २०८१, शनिबार
Follow Us

वार्ता र संवादबाट समाधान खोजौँ : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७३, शनिबार ०९:४८

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्याको समाधान वार्ता र संवादबाट खोज्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाले आज विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा उहाँले संविधानले सङ्घीयता, लोकतन्त्र र सबै जातजातीको भावना समेटेकाले मधेसी जनताले संविधानलाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो ।

नेता रामचन्द्र पौडेलले भन्नुभयो, “संविधानमा मधेसीका अधिकारका विषयमा केही कमी कमजोरी होलान आउनुहोस् वार्ता र संवादबाट समाधान खोजौँ ।”

राजनीतिक दलबीच संविधान कार्यान्वयनको कुरा हलो अड्काएर गोरु चुट्ने काम भएको भन्दै उहाँले यसलाई सबै राजनीतिक दल मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले संसदीय प्रजातन्त्र नमानेका कारण मुलुकमा अस्थिरता पैदा भएको उल्लेखगर्दै नेकपा (एमाले) जस्तो जिम्मेवार पार्टीले संविधान कार्यान्वयन अड्काउने काम गर्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले सीमाङ्कनमा जाँदा जिल्लालाई टुक्र्याउन नहुने धारणा राख्दै जिल्लालाई टुक्र्याएर मुलुकमा झन् अस्थिरता सिर्जना हुने बताउनुभयो ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले नेपाली पत्रकारिताको पुरानो संस्था प्रेस युनियन भएको भन्दै युनियनले श्रमजीवी पत्रकारको हक, हितमा बारम्बार लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।