१२ बैशाख २०८१, बुधबार
Follow Us

धुर्मुस– सुन्तलीले थाले क्रिकेट रंगशाला निर्माणको काम

sarusaru
२० माघ २०७५, आईतवार १२:१०

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १६, शान्तिचोकमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आइतबार एक समारोहबीच विस्तृत योजना प्रतिवेदन (डीपीआर) शुभारम्भ गरिएको छ । डीपीआर शुभारम्भ कार्यक्रममा स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
रकम संकलनको कुनै योजना नभएपनि स्वस्फूर्तरुपमा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले शुभारम्भ कार्यक्रममा रकम संकलनको बारेमा नसोचिएको र स्वस्फूर्तरुपमा दाताहरुले आर्थिक सहयोग गर्नु भएको बताउनु भयो ।
डीपीआर शुभारम्भ कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा अस्पताल भरतपुरकी निर्देशक डा। शारदा कुँवरले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी स्वेच्छिक रुपमा विभिन्न दाताले आर्थिक सहयोगको घोषणा गरेका थिए ।
यसैबीच, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा आइतबार नै डोजरले माटो सम्याउने काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली डोजर चालकसँगै उभिएर माटो सम्याउने काममा सरिक भएका थिए ।
चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्र आँखैअगाडि चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ठडिने बताउनु भएको छ ।
भरतपुर १६ मा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकोे डीपीआर शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि समेत रहेका फाउन्डेसनका अध्यक्ष कट्टेलले जनताको रंगशाला बन्न लागेको हुँदा हरेक घरलाई सक्दो सहयोग गर्न आह्वान गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘आजैबाट रंगशाला निर्माण सुरु भयो, जग्गा सम्याउनेदेखि निर्माण सामग्रीहरु झार्नेसम्मका काम हुन्छन् । आजैबाट डोजर चलाएर जग्गा सम्याउने काम सुरु गरिन्छ ।’
डीपीआरको समय ६ महिना राखिएको तर त्यति समय पनि नलाग्ने उहाँको भनाइ थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘यहाँ क्रिकेट रंगशाला मात्र होइन, खेलकुदको हब बनाउने हाम्रो सोच छ । यहाँ फुटबल मैदान बन्छ, एथलेटिक्स बन्छ, भलिबलको खेल मैदान बन्छ, तेक्वान्दो खेल्ने ठाउँ पनि यहाँ बन्छ । यहाँ त खेलकुदको हब बनाइन्छ ।’
अध्यक्ष कट्टेलले सत्प्रतिशत क्रिकेट रंगशाला बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो जनताको रंगशाला हो, हरेक चितवनवासीले सहयोग गर्नूस्, हरेक नेपालीले सहयोग गर्नूस् । हामीलाई कुनै लोभलालच छैन, जसरी पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनूछ े यस क्रिकेट रंगशालालाई खेल एकेडेमिक बनाउने प्रतिबद्धता समेत गर्नुभएको छ । ७७ जिल्लाका खेलाडीहरुलाई प्रशिक्षण दिने ठाउँ पनि यहाँ बनाउने अध्यक्ष कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले खेलाडीको अवस्था कस्तो छ, हामीले देखेको छौँ, अब त्यस्तो अवस्था हुन नदिन हामी सबै लाग्नुपर्छ । रंगशाला बनाएर देखाएपछि विश्वले भन्नेछ, वाह, नेपाल वाह नेपाली ।’
सरकारभन्दा कोही माथि नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘सरकारभन्दा कोही माथि हुँदैनन्, छिटो काम सम्पन्न हुन्छ भनेर सरकारले हामीलाई विश्वास गरेको छ, हामी सरकारभन्दा माथि छैनौँ ।’ कार्यक्रममा उहाँले विश्वलाई नागरिकको तहबाट बनेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाएर देखाउने प्रतिबद्धतासमेत गर्दै भन्नुभयो, ‘यसमा केवल तपाइँको साथको खाँचो छ, सहयोगको खाँचो छ । सम्पत्ति कमाएर नराख्नूस् चिन्ता बढ्छ, धुर्मुस सन्तलीलाई दिनूहोस् चिन्ता हट्छ ।’ असल काम गरे यहीँ श्वर्ग देख्न पाइने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामी कलाकारिताबाट सामाजिक अभियन्ता बनेका छौँ, हामीलाई पैसाको कमी थिएन, तर सबैभन्दा ठूलो कुरो आत्मसन्तुष्टि रहेछ, सामाजिक सेवाबाट हामीले आत्मसन्तुष्टि पाएका छौँ ।’ उहाँले सबैलाई आत्मसन्तुष्टि पाउन क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले रंगशाला बनाउन अहोरात्र आफैँ खटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो ३ अर्बमा बन्ने परियोजना होइन, हामी आफैँ खटिने, चितवनवासी खटिने, स्वयम्सेवी खटिने भएकाले ३ अर्बमा बन्छ भनेका छौँ ।’ उहाँले नेपालीपनको रंगशाला निर्माणमा निर्धक्क भएर लाग्न आग्रह गर्दै भन्नुभयो, ‘तपाइँको एक रुपैयाँ पैसा हिनामिना हुँदैन, यो त जनताको पसिनाले बन्ने रंगशाला हो । पैसा कुल्याउने हुन् कि भन्ने लागेको पनि होला, तर तपाइँको नाम र सहयोग रकम वेभसाइटमा हुन्छ, भोलिका पुस्ता नाति पनातिसम्मले हेर्न सक्नेछन् ।’
कार्यक्रममा उहाँले हरेक नागरिकलाई एकतामा जोड्ने रंगशाला बन्न लागेको बताउनुभयो । ‘निश्चित वर्गलाई फाइदा पुग्ने गरी हामीले रंगशाला निर्माण गर्न लागेको होइनौँ, यो त जनताको रंगशाला हो, सबै नेपालीको अपनत्व हुन्छ’ अध्यक्ष कट्टेलले भन्नुभयो, ‘चितवन देशकै केन्द्रीय भाग भएको हुनाले हामीले चितवन रोजेका हौँ ।’ उहाँले अहोरात्र खटिएर जग्गा उपलव्ध गराउन सहयोग गर्ने भरतपुर महानगरलाई विशेष धन्यवाद दिनुभएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाउने स्पष्ट पार्नु भएको छ । भरतपुर महानगरपालिका १६, शान्तिचोकमा आइतबार आयोजित रंगशालाको डीपीआर निर्माण शुभारम्भ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताउनु भएको हो ।
‘जे गर्दा पनि नकारात्मक सोच्ने मानिसहरुले केही टिकाटिप्पणी गर्न थालेका छन्’ उहाँले भन्नुभयो, ‘रंगशाला बनाउने धुर्मुस सुन्तली फाउण्डेसनले नै हो । हामीले आवश्यक सहयोग गर्ने हो । जनताको सहभागितामा राष्ट्रिय गौरवको आयोजना बन्दैछ । जनताको साथले जस्तोसुकै ठूलो कार्य गर्न सकिन्छ । रंगशाला बनाएर देखाउनु छ । अन्तर्राष्ट्रिय क्षेत्रमा यो सन्देश दिनु छ ।’
भरतपुर महानगरमा रंगशाला बन्ने पक्का भइसकेको जानकारी गराउँदै मेयर दाहालले भन्नुभयो, ‘हामी जनतालाई एउटा खुल्दुली भइरहेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ कि बन्दैन भन्ने । आज आउँदा त्यो खुल्दुली सकिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि फाउण्डेसन र महानगरबीच चार दिनअघि काठमाडौंमा रंगशाला निर्माण सम्बन्धी सम्झौता भइसकेको छ ।’
धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको अपार माया, साथ र सहयोग रहेको बताउँदै उहाँले भन्नुभयो, ‘भरतपुर महानगरमा रंगशाला निर्माण हुने खबर सुनेर चितवनवासी जनता खुसी छन् । सहयोग जुट्न कठिन हुँदैन भन्ने मैले विश्वास लिएकी छु । संस्थागत हिसाबले यो अभियानमा जुट्नु होस् ।’ रंगशाला निर्माणका लागि आवश्यक रकम जुटाउन राष्ट्रव्यापी र अन्तर्राष्ट्रिय रुपमा सहयोगका लागि आह्वान गर्ने उहाँले बताउनु भयो ।
‘ अब आर्थिक संकलन अभियान अगाडि बढ्ने छअरुको भन्दा चितवनवासीको सक्रियता बढी हुन जरुरी छ’ मेयर दाहालले भन्नुभयो, ‘त्यसको लागि सबै जना जुट्नुहोस् । राष्ट्रिय गौरवको आयोजनामा कसैको पनि विमति छैन । राजनीतिक पूर्वाग्रह वा संकोच छैन । कुनै पनि खालको आग्रह पूर्वाग्रहभन्दा माथि उठेर रंगशाला निर्माणको काम सम्पन्न गर्न सबै जना आआफ्नो ठाउँबाट जुटौँ ।’
उहाँले सरकारले केही गर्न सकेन, सरकार निकम्मा छ भन्नेजस्ता टिकाटिप्पणीले आफू विचलित नहुने बताउनु भयो । ‘राज्यको ठूलो लगानी वा विदेशी दाताको पैसाले होइन, जनताको साथ, सहयोग र सहभागिताले रंगशाला निर्माणका लागि फाउण्डेशन जुटेको छ’ उहाँले भन्नुभयो, ‘आउनुहोस्, हामी सबै मिलेर धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरौं । राष्ट्रिय गौरवको अभियानमा सबै नागरिक जुटौँ । व्यक्तिगत हिसाबले, संस्थागत हिसाबले सहयोग गरौँ ।’
भरतपुरको विकास हेर्न चाहनेहरुलाई अबको दुई वर्षपछि चितवन आउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘सडक पूर्वाधारका योजना अगाडि बढेका छन् । सिटी हल, बहुउद्देश्यीय भवन, पार्क लगायतका विकासले भरतपुर नमुना बन्नेछ दुई वर्षमा । भरतपुर महानगरमा रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसन, यसका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीलाई विशेष आभार व्यक्त गर्दछु ।’