७ बैशाख २०८१, शुक्रबार
Follow Us

साढे ४ लाख पैसा रहेको झोला अर्कैले लगिदिएपछि…

नेपालब्रिटेन डट कम्
२० माघ २०७५, आईतवार १६:०६

सिन्धुली–कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उनको खुशीको सीमा नै थिएन । आज काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो ।

शान्तिनगर चोकमा झरेका श्रेष्ठले झोला सडक छेउमा राखे । सोही क्रममा उनले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर गए । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाए । तत्काल उनले प्रहरीलाई फोन गरी झोला साँटिएको जानकारी गराए । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाल्यो ।

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाडौँतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै रु साढे चार लाख फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो ।

“झोला भेटिँदा निकै खुशी लाग्यो,” प्रहरी सहायक निरीक्षक पाण्डेले भने, “प्रहरीलाई तत्काल खबर गरेकाले पैंसो भेटाउन सम्भव भएको हो ।” समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उनी बताउँछन् । श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी सो रकम बुझाउन जाँदै गरेको बताए ।