६ बैशाख २०८१, बिहीबार
Follow Us

फागुन ७ गतेबाट जनसंघर्ष गर्ने राप्रपाको घोषणा

sarusaru
२१ माघ २०७५, सोमबार ०९:५६

कमल थापा नेतृत्वको राप्रपाले फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइने निर्णय पनि गरेको छ ।
सनातन हिन्दुराष्ट्र पूनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि राप्रपाले आगामी फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने पनि राप्रपाले जनाएको छ ।
शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिनेछ ।
धर्म निरपेक्षताको आडमा लोभ लालच, प्रभोलन र भ्रम सिर्जना गरी संगठित र योजनावद्ध रुपमा भईरहेको धर्म परिवर्तनप्रति राप्रपा ले चिन्ता पनि व्यक्त गरेको छ ।

मिति ः २०७५ माघ २१ गते

प्रेस विज्ञप्ति
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ २० गतेदेखि बसेको केन्द्रीय कार्य समितिको बैठक महत्वपूर्ण निर्णयहरु गर्दै आज सम्पन्न भएको छ । बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ ।
१. बैठकले अध्यक्ष कमल थापाद्धारा प्रस्तुत समसामयिक परिस्थिति र भावि कार्यदिशा सम्बन्धि राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गरेको छ । यसैगरी महामन्त्रीको सचिवालय सम्बन्धि, कोषाध्यक्षको आर्थिक र राष्ट्रिय स्वाभिमान यात्रा मूल समितिद्धारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
२. हिन्दुराष्ट्र पूर्नस्थापना लगायतका मागहरु राखी राप्रपाले फागुन ७ गतेबाट जनसंघर्ष गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइनेछ । देशब्यापी रुपमा जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गरिनेछ ।
३. सनातन हिन्दुराष्ट्र पूनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि राप्रपाले आगामी फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ । स्वाभिमान यात्रा जनसंघर्ष कार्यक्रमको निरन्तरताको रुपमा रहनेछ । शान्तिपूर्ण जनसंघर्षको स्वरुप र विस्तृत कार्यक्रम फागुन ३० गते हुने राष्ट्रिय स्वाभिमान यात्राको समापन समारोहमा घोषणा गरिनेछ ।
४. नेपाली इतिहासमै पहिलोपटक देश टुक्र्याउन चाहने विखण्डनकारी शक्ति सतहमा देखिएको छ । यस समूहले तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना देखिन्छ । उपरोक्त सम्भावनालाई दृष्टिगत गर्दै राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा गम्भिर बन्न, यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्न र विखण्डनको गतिविधिमा दृढतापूर्वक उभिन राप्रपा सरकारसँग माग गर्दछ ।
५. धर्म निरपेक्षताको आडमा लोभ लालच, प्रभोलन र भ्रम सिर्जना गरी संगठित र योजनावद्ध रुपमा भईरहेको धर्म परिवर्तनप्रति राप्रपा चिन्ता व्यक्त गर्दछ । पछिल्लो समय हिन्दु, बौद्ध, किराँत धर्मावलम्बीहरुको जवरजस्ती ढंगबाट धर्म परिवर्तन गराइएको छ र यो कार्य निरन्तर जारी रहेको छ । धर्म परिवर्तन, धर्म परिवर्तन गराउने संस्था, धर्म प्रचारकलाई प्रत्यक्ष वा परोक्ष रुपमा स्वयं सरकार र सत्तारुढ दलको संरक्षण र प्रोत्साहन हुनु चिन्ताको बिषय हो । धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौदेखिको नेपाली समाजमा कायम रहँदै आएको साँस्कृतिक एकता र सदभाव खल्बलिन नदिन र देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न राप्रपा सरकारसाग माग गर्दछ ।
६. विदेशका विभिन्न बैंकहरुमा गैरकानुनी रुपले अवैध सम्पत्ति लुकाउने र नेपालबाट पठाइएका काला धनलाई विदेशमा लगि लगानीका रुपमा नेपाल फिर्ता ल्याई सेतो बनाउने धन्दाको रुपमा रहेको छ । यस्तै नेपाल बायु सेवा निगमको वाइड बडि जहाज खरिद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल करछली प्रकरण, बुढिगण्डकी परियोजना काण्ड लगायत आर्थिक अपचलन र ठूला भ्रष्टाचारका दर्जनौ काण्डहरु छन् । यस बारे सनसनीखेज तथ्यहरु सार्वजनिक समेत भएका छन् । राप्रपा बैठक सम्पुर्ण प्रकरणको यथार्थ छानविन गर्न, अवैध सम्पत्ति जफत गर्न, दोषीलाई कडा कारबाही गर्न र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।
७. लगानीको वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न ठोस कार्ययोजना ल्याउन, सामान्य रोजगारीका लागि विदेशीन बाध्य लाखौ नेपाली यूवालाई स्वदेश फर्काउन र जीविकोपार्जनको ग्यारेन्टी गर्न राप्रपा सरकारसँग माग गर्दछ ।
८. देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दुराष्ट्र र राजसंस्थाप्रति प्रतिवद्ध समान विचारधारा भएका दलहरुलाई राप्रपासँग एकताका लागि आब्हान गर्दछौं ।

मोहन श्रेष्ठ
प्रमुख
प्रचार बिभाग