१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जर्मनीमा गोरखाली भेला


२१ माघ २०७५, सोमबार १३:०८

डिल्लीराम अम्माई । जर्मनी । एनआरएनएका पुर्व ग्लोबलअध्यक्ष तथा साहित्यकार जिवा लामिछानेको प्रमुख आतिथ्यतामा जर्मनीको फ्रान्क्फार्टमा गोर्खालीहरुको एक बृहद भेला सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, सोही संघका संस्थापक रामप्रताप थापा, गैरआवासीय नेपाली संघ फ्रान्सका संस्थापक हरिहर अर्याल तथा गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घले समेतको विशेष उपस्थितिमा भएको भेलाले वाशु अर्यालको अध्यक्षतामा गोर्खाली समाज जर्मनी गठन गरेको हो।

गोरखामा लगानी तथा परोपकारको मूल उद्देश्य राखेर गठन भएको गोर्खाली समितिको पदाधिकारीहरुमा उपाध्यक्ष बन्दना पन्त, महासचिव सुजन थापा, सचिव जीवनढकाल र कोषाध्यक्षमा राधिका खनाल रहेका छन् । त्यस्तै, सदस्यहरुमा डा. सरोज अर्याल, सारदा देवकोटा, पार्वती फुँयाल, ज्योती चालिसे र तोयानाथ खनाललाई भेलाले चयन गरेको छ। थप क्षेत्रहरुको प्रतिनिधित्व हुने गरेर आवस्यकताअनुशार केही सदस्य थप गर्न समाजलाई भेलाले अनुमति समेत दिएको छ।

भेलाले समाजलाई संरक्षणको साथै आवश्यक सुझाव सल्लाहको लागि सल्लाहकार समिति पनि निर्माण गरेको छ। जसमा जिवा लामिछाने, कुमार पन्त, रामप्रताप थापा र कृष्ण गौतम रहेका छन् ।

गोर्खाली सामाजका अभियन्ता वाशु अर्यालको सभापतित्व र सरोज थापाको सञ्चालनमा भएको प्रथम खुल्ला सत्रमा सरोज अर्यालले युरोपको विभिन्न स्थानबाट आएका अतिथिहरुलाई मन्तब्यमार्फत स्वागत गरेका थिए। त्यस्तै बालकलाकारत्रय कुशल पन्त, समृद्धि पन्त र वर्षा पन्तले एक बाल प्यारोडी गीतमार्फत भेलालाई उर्जा प्रदान गरेका थिए ।

गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घलेले विशेष मन्तव्यको क्रममा निर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । उनले गोर्खालीहरुको संजाल बिस्तारले आफुलाई उर्जा थपेको समेत भन्न बिर्सेनन्।

परिचय उपशीर्षकमा उपस्थित सबैबीच कुशलताको आदानप्रदान गरियो। लगत्तै समाज गठनको औचित्यताबारे एक बहस शुरु गरियो। बहसको क्रममा अग्रज अभियन्ता हरिहर अर्यालले माटोप्रतिको मोहले जन्मिएको गोरखाली समाज परिवार संगै बसेर दु:ख-सुखका गफ गर्ने सानो घर भएको बताए।

यसको उद्देश्य आफ्नो गाउँ वा जिल्लाबारे सुचना आदान प्रदान, पर्यटकीय सम्भावनाको खोजी, कृषिलगायत लगानीका क्षेत्रहरुको पहिचान, सम्भावित क्षेत्रमा योजना निर्माण र लगानी प्रबाहबारे बहस र तात्कालिक परोपकारी राहत रहेको बताए ।

त्यस्तै एनआरएन अभियन्ता कुमार पन्तले घर, गाउँ, क्षेत्र र जिल्लाको सम्वेदनाले मानवीय चेतनालाई तुरुन्त प्रभाव पार्ने हुँदा जिल्लावासी संगठित हुनु राम्रो हो भन्दै परिवार, गाउँ जिल्ला र क्षेत्रको एकता राष्ट्रिय एकताको आधार बन्नुपर्ने तर्क राखे। उनले ठुला लगानी भन्दा गाउँमा संयुक्त रुपमा टुक्रे लगानीले गाउँले साना किसानहरुलाई आत्मनिर्भर बन्न सघाउनेु कुरा स्पष्टसँग राखे ।

अग्रज अभियन्ता रामप्रताप थापाले तयार पारेको कार्यपत्रबारेको बहसमा ुकुनै पनि विकास योजनाको शुरुवात सानो क्षेत्रबाट नै शुरु हुने बताउँदै गोरखा लगानी प्रबर्द्धन समितीले बहसको लागि तयार पारेको कार्यपत्र एकपटक पढ्नु थापाले सबैलाई अनुरोध गरेका थिए।

‘धेरै मेहनतपछि तयार पारेको कार्यपत्र सबै आप्रवासी गोर्खाली मात्र नभएर नेपालीहरुको लागि समेत आधार पत्र हुन सक्ने’ भन्दै उनले लगानीको लागि प्रचुर सम्भावना बोकेको गोरखा नेपालीहरुको पहिलो छनौटमा पार्न अझ धेरै प्रयत्न गर्नुपर्नेु भनाई राखेका थिए।

डायस्पोराका मुर्धन्य साहित्यकार तथा एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछानेले समेत भेलामा आफ्नो भनाई राखेका थिए। ‘छलफलको क्रममा आएका र प्रस्तुत कार्यपत्रले निर्दिष्ट गरेका गोरखामा लगानीका सम्भाबनाबारे बहसले आफ्नो चासो बढेको’ भन्दै उनले गोरखामा लगानीको वस्तुगत, विषयगत र क्षेत्रगत सम्भाव्यताबारे अझ बहस गरिनुपर्ने बताए। गोर्खाली समाजको स्थापनाले जिल्लागत विकासको लागि लगानीबारे बहसको एउटा प्लेटफर्म उपलब्ध गराएको भन्दै सबै जिल्लावासीहरु क्षेत्रगत रुपमा समेत संगठित हुँदै लगानी छनौट,उपयुक्त योजनाको पहिचान र निर्माण, बजेटको तर्जुमा लगानीकर्ताको खोजी गर्नको लागि अनुरोध गरेका थिए। गोरखामा सुन्तलाखेतीको प्रचुर सम्भाबना भएको भन्दै त्यसमा लगानी गर्न आफु उत्सुक भएको उनले मन्तव्यको क्रममा बताए।


प्रतिबद्धता मन्तव्यको क्रममा विकास, समृद्धि प्रेम र समबेदनाको परिधिबारे बोल्दै गोर्खा समाज जर्मनीका अध्यक्ष बासु अर्यालले भने, ‘यी कुराहरु परिवार, गाउँ र जिल्लासंग प्रवल रुपले जोडिँदै देशको हितमा समाहित हुन्छन् । मानवीय हित, प्रेम र भावनाका अन्य उत्कण्ठाहरुको लहर अन्ततः अन्तराष्ट्रिय मानवतामा समाहित हुने हो । गोर्खाली समाजको गठन यही सकारात्मकताको लागि पहिलो प्रयास हो।’