१५ चैत्र २०८०, बिहीबार
Follow Us

वेल्जियमबाट वृद्धाश्रमलाई डेढ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२१ माघ २०७५, सोमबार २१:१३

नेपाली जनसम्पर्क समिति वेल्जियमले सर्लाहीको जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आर्थिक सहयोग गरेको छ । वेल्जियममा कार्यरत नेपालीले आश्रमका लागि एक लाख ५७ हजार छ सय ९१ रुपिँया आर्थिक सहयोग गरेका हुन् ।

रकम उपलब्ध गराउन सहजीकरण गर्नुभएका सञ्चारकर्मी ओमप्रकाश ठाकुरको अध्यक्षता तथां सङ्घीय सांसद एवं नेपाली काँगे्रस सर्लाहीका सभापति नागेन्द्र कुमार रायको प्रमुख आतिथ्यतामा आश्रमको खातामा रकम जम्मा भएको भौचर आज एक कार्यक्रमगरी आश्रमलाई प्रदान गरिएको हो ।

बृद्धाश्रमका आश्रीत बृद्धबृद्धाको पालनपोषणमा टेवा पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको नेपाली जनसम्पर्क समिति वेल्जियमका सदस्य एवं वेल्जियमै कार्यरत सर्लाहीको कविलासी नगरपालिका–७ गैरका बलिराम झाले जानकारी दिनुभयो ।

पछिल्लो समय मनकारी व्यक्तिहरुले यसरी निरन्तर रुपमा सहयोग गर्न थालेपछि आश्रम सञ्चालनमा टेवा पुगेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले बताउनुभयो । कार्यक्रममा सङ्घीय सांसद एवं काँगे्रस जिल्ला सभापति रायले आफ्नो पारिश्रमिकको रकमबाट बेसहारा वृद्धबृद्धा आश्रीत आश्रमलाई सहयोग गरेर सहयोगीहरुले ठूलो पुण्य आर्जन गरेका बताउनुभयो । यसैबीच १९ औँ वैवाहिक वर्षगाँठको अवसरमा लालबन्दी नगरपालिका–७ निवासी कुमार थापा र शान्ता कार्कीले आज बिहान जुटपानी आश्रमका बृद्धबृद्धालाई भोजन गराउनु भएको छ ।