७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्यानको निलम्बन फुकुवा हुँदैछ, अब खेलाडीले सबै पारिश्रमिक पाउँछन् : मन्त्री विश्वकर्मा

sarusaru
२२ माघ २०७५, मंगलवार ०९:४९

काठमाण्डौ ।युवातथा खेलकूदमन्त्रीजगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपालक्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग ्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भने अनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसिसी मार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो ।आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्रीविश्वकर्माले आइसिसीलाई आग्रहपनिगरे ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडिलाई जनही ५ लाख रुपैया दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए ।

५ लाखको ठाउँमा ५० लाख दिन किन सकिदैन भन्ने धमलाको प्रश्नमा मन्त्री विश्वकर्माले सदासयताको लागि धन्यवाद दिदै अहिलेको अवस्थामा खेलाडिलाई त्यति धेरै रकम दिन नसकिने प्रष्ट पारे ।

खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

क्रिकटकै प्रसंगमा मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गरे । आफू मन्त्री हुँनु अघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

“जग्गाविवाद समाधानको प्रस्ताव मन्त्रीपरिषदले पास गरेर बजेटका लागि अर्थ मन्त्रालयमा प्रस्ताव लगेको छु । अर्थले प्रस्ताव स्विकार गर्नासाथ टेण्डर आव्हान गर्छौँ ।” विश्वकर्माले भने ।

गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान सरकार आफैले नबनाएर किन अरुलाई जिम्मा दियो भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको जवाफदिए ।

अन्तराष्ट्रिय प्रतियोगिताका लागि सरकार आफैले पनि रंगशाला बनाउने भन्दै उनले भक्तपुरमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । त्यसैगरी सात वटै प्रदेशमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने सरकारको लक्ष्य अनुसार काम भइरहेको पनि बताए ।

हरेक स्थानीय तहमा खेलग्राम बनाउने योजनासमेत सरकारसँग रहेको मन्त्री विश्वकर्माले सुनाए । त्यसका लागि स्थानीय तहले ३० प्रतिशत र संघीय सरकारले ७० प्रतिशत बजेट उपलब्ध गराउने छ ।

नेपाली क्रिकेट खेलाडिले प्राप्त गरेको सफलतलाई सरकारले सदुपयोग गर्न नसकेको भन्ने पत्रकारको प्रश्नमा मन्त्री विश्वकर्माले वर्तमान सरकार देशको विकास र समृद्धिसँगै खेल क्षेत्रको विकासका लागि पनि प्रतिवद्ध भएको दावी गरे ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै खेलकूद क्षेत्रको विकासका लागि सक्रिय भएको दावी गर्दै मन्त्री विश्वकर्माले आगामी सेप्टेम्बरमा हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न गर्नका लागि सरकारले तिब्रताका साथ तयारी अगाडि बढाइरहेको बताए ।

यसअघिका सरकारले १३ औँ सागको तयारीमा वेवास्ता गरेका कारण अहिले समस्या उत्पन्न भएको तर्क गर्दै मन्त्री विश्वकर्माले चुनौतिको सामना गर्न आफू सक्षम रहेको बताए ।

“१३औँ साग पहिलो प्राथमिकतामा छ । कार्ययोजना बनाएर काम गरिरहेका छाँै । प्रावधान बनाएर प्रतियोगिता गराउनु चुनौतिपूर्ण छ । तर पनि हामी समयमै काम सम्पन्न गर्न लागिपरेका छौँ ।” मन्त्री विश्वकर्माले भने ।

सागको तयारी स्वरुप भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री विश्वकर्माले जानकारी दिए । भिआइपी प्यारापिटको छाना हाल्नमात्रै बाँकी रहेको उनले बताए । त्यसैगरी सातदोबाटो र पोखराको रंगशाला मर्मतको काम पनि अघि बढेको जानकारी दिए ।

साग अगाडि नै गर्ने भनिएको आठौँ राष्ट्रिय खेकलकूद प्रतियोगिताको तयारी भइरहेको भन्दै मन्त्री विश्वकर्माले दुवै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने प्रयास भइरहेको बताए ।

सरकारले चालु आर्थिक वर्षमा आठौँ राष्ट्रिय खेलकुद, १८ औँ यसियाली खेलकुद र १३ औँ दक्षिण यसियाली खेलकुदको तयारी एवम् पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको थियो ।