१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकताको स्वागत

नेपालब्रिटेन डट कम्
२२ माघ २०७५, मंगलवार १५:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) आवद्ध विद्यार्थी संगठनले भर्खरै सम्पन्न पार्टी एकताको स्वागत गरेको छ ।

“समयको माग, आम कार्यकर्ता र सुभेच्छुकहरुको चाहना बमोजिम सम्पन्न दुई राप्रपा बीचको एकताले देशव्यापी सकारात्मक तरंग ल्याएको छ । विद्यार्थी संगठन दुई राप्रपाबीच सम्पन्न एकताको स्वागत र समर्थन गर्दछ,” राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) का अध्यक्ष धनशुर शाहीले बताए ।

मंगलबार काठमाडौंमा सम्पन्न विद्यार्थी संगठनको वैठकले, मूलधार राप्रपाको रुपमा राप्रपा (संयुक्त) ले राष्ट्रवादी एकतालाई बृहत बनाउदै लैजानु पर्ने ठहर समेत गरेको छ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच सम्पन्न एकता एक कार्यक्रमबीच माघ १८ काठमाडौंमा घोषणा गरिएको थियो ।

घोषणा सभामा आह्वान भए बमोजिम भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापाको नेतृत्वमा राप्रपा र समान विचारधारा भएका अन्य राष्ट्रवादी दल, समूह र व्यक्तिहरुलाई समेत एकता प्रक्रियामा समाहित गर्दै लैजानु पर्ने विद्यार्थी संगठनको निष्कर्ष छ ।

विद्यार्थी संगठनका प्रवक्ता एन्टीसंघर्ष राईका अनुसार, फराकिलो एकतालाई मूर्त रुप दिन राप्रपा (संयुक्त) नेतृत्वलाई विद्यार्थी संगठनले अनुरोध समेत गरेको छ ।

राप्रपा (संयुक्त) ले अबका दिनमा युवा विद्यार्थीका सरोकारलाई महत्वका साथ समावेश गर्नेछ भन्ने अपेक्षा विद्यार्थी नेताहरुको छ ।

युवा विद्यार्थीका पक्षमा नीतिगत हस्तक्षेपका साथसाथै पार्टीका हरेक संगठन र संरचनाहरुमा युवा पुस्ताको प्रतिनिधिमूलक सहभागिता राष्ट्रवादी आन्दोलनको आवश्यकता हो भन्ने आम धारणा छ ।