१३ बैशाख २०८१, बिहीबार
Follow Us

भ्रष्टाचार आरोप लागेका साह ६ लाख धरौटीमा छुटे

sarusaru
२३ माघ २०७५, बुधबार ०२:०९

काठमाडौँ । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले जानकारी दिए ।

परिषद्मा भ्रष्टाचार गरेको आरोपमा परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

परिषद्का तत्कालीन कार्यकारी निर्देशक साहले रु ६२ लाख ८८ हजार ५०० भ्रष्टाचार गरेको आयागले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।

भारतीय सरकारको सहयोगमा सञ्चालित धनुषाको जनकपुरधामस्थित परिषद्मा आठ परियोजनामध्ये पाँच वटा बोलपत्रको मूल्याङ्कन गर्दा लगत अनुमानभन्दा ३० प्रतिशत बढी रु ७६ लाख २८ हजार ५०२ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

परिषद्बाट रङ्गभूमि मैदान, गङ्गासागर र तिरहुतिया गाछी संरक्षणलगायत विभिन्न आठ वटा ठेक्कामा भ्रष्टाचार भएको हुँदा तत्कालीन दुई कार्यकारी निर्देशक, प्रोजेक्ट इञ्जिनीयर र ठेकेदारका दुई जना प्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।
डिसी नेपाल