१३ बैशाख २०८१, बिहीबार
Follow Us

लिग लिडर डर्टमन्ट जर्मन कपबाट बाहिरियो

नेपालब्रिटेन डट कम्
२३ माघ २०७५, बुधबार ०५:५९

जर्मन बुन्डेस लिगाको शीर्ष टोली वोरुसिया डर्टमन्ड जर्मन कप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा वेर्डर ब्रेमेनसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित हुँदै डर्टमन्ड प्रतियोगिताबाट बाहिरिएको हो ।

डर्टमन्डको घरेलु मैदानमा भएको रोचक खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा ब्रेमेनले भाग्मानी बन्दै क्वाटरफाईनलमा स्थान बनायो ।

निर्धारित समयको पाँचौ मिनेटमा मिलोट राशिकाले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाए । त्यसपछि ४५औं मिनेटमा डर्टमन्डका मार्को रीउसले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

अतिरिक्त समयको एक सय पाँचौ मिनेटमा डर्टमन्ड गोल गर्दै खेलमा फर्कियो । क्रिस्टियन पुलिसिकले डर्टमण्डलाई अग्रता दिलाए । एक सय आठौं मिनेटमा ब्रेमेनका क्लाउडीयो पिजारोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

एक सय १३औं मिनेटमा अस्राफ हाकिमीले गोल गर्दै पुन डर्टमन्डलाई अग्रता दिलाए । एक सय १९औं मिनेटमा ब्रेमेनका मार्टिन आर्निकले बराबरी गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा डर्टमन्डका एलेक्स विसल र जुलियन वेइगलले गोल गरे । पाको अल्कासर र म्याक्सीमिलियन फिलिपेले असफल बने । ब्रेमेनका क्लाउडीयो पिजारो, म्याक्सीमिलियन एगिस्टन, डेभि क्लासेन र म्याक्स क्रुसले गोल गरेका थिए ।