१५ बैशाख २०८१, शनिबार
Follow Us

श्रेष्ठको कडा जवाफ ‘निमको बोट रोपेर सुन्तला फल्दैन’

sarusaru
२३ माघ २०७५, बुधबार ०६:४१

काठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद श्रेष्ठले निमको बोट रोपेर सुन्तला फल्दैन भन्दै आदिवासी जनजाति सङ्घसंस्था सम्बद्ध केही नेताहरूको कडा आलोचना गरेका छन् । उनले यो कुरा नेपाल तामाङ घेदुङद्वारा सोनाम ल्होसारको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सवमा शुभकामना मन्तब्य दिँदै बताएका हुन् ।
उक्त ल्होसार कार्यक्रममा आदिवासी जनजाति महासङ्घ तथा तामाङ घेदुङका केही नेताहरूले आफ्नो मन्तब्यको क्रममा सोनाम ल्होसार लगायत आदिवासी जनजातिका पर्वहरूको बिदा कटौती, पहिचान सहितको सङ्घीयता जस्ता विषयहरूको उत्थान गर्दा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसकै कोटीमा राखेर ससफोलाई पनि विरोध गरेको सन्दर्भमा उनले कुरा उठाउनेहरू र नउठाउनेहरूलाई पनि एकै ठाउँमा राखेर आलोचना गरेकोमा आक्रोश व्यक्त गरे र भने, ‘सहिलाई सहि र गलतलाई गलत भन्न नसकेकै कारण आदिवासी जनजातिहरू पछाडी परेका हुन् ।’
संविधान बनाउने बेला पहिचानविरोधी पार्टीलाई भोट दिने अनि राम्रो संविधान बनेन, पहिचान सहितको सङ्घीयता प्राप्त भएन भनेर आफ्नो पार्टीको आलोचना गर्नेहरूलाई जवाफ दिंदै उनले भने, ‘आफ्नो पार्टीले जितेको भए पहिचान सहितको सङ्घीयता आइ सक्थ्यो । अब नेवाः, तामसालिङ् आदि पहिचानयुक्त प्रदेश प्राप्त गर्न सङ्घर्षको विकल्प छैन । अष्ट्रलियाका आदिवासीले जस्तै लामो समय धुनी बालेर बस्नु पर्ने पनि हुन सक्छ, भारतमा तेलङ्गनाले लडेजस्तै लड्नुपर्ने पनि हुन सक्छ ।