८ बैशाख २०८१, शनिबार
Follow Us

आगलागीबाट लाखौँ क्षति

sarusaru
२३ माघ २०७५, बुधबार ०६:५७

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै रु नौ लाख बराबरको क्षति भएको छ ।

स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार रुपैयाँका दरले छ लाख ५८ हजार र गोठभित्रका अन्य लत्ताकपडा र भाँडाकुडा गरी झण्डै रु नौ लाख क्षति भएको हो ।

गोठमा हुलेका सबै भेडाबाख्रा मरेको भेडा कृषक कैलो बुढाले बताउनुभयो । रातिको समयमा घरमा बालिएको आगो सल्केर भेडीगोठसम्म पुग्दा आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ ।

बुढाका अनुसार ९० वटा भेडा र बिसे कामीका चार वटा भेडाबाख्रा आगोले जलेर मरेका हुन् । वनबाट चराएर ल्याएका भेडाबाख्रा गोठमा हुलेको अवस्थामा आगलागी हुँदा ती भेडाबाख्रा पूर्ण रुपमा जलेर मरेको पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले बताउनुभयो । मयलाल कामीको घरमा बालेको आगो सल्केको हुनसक्ने उहाँको भनाइ छ ।
बुढा र कामीका भेडाबाख्रा सधैँ एउटै गोठमा हुल्ने गरिएको थियो । भेडाबाख्रा पालन व्यवसाय गर्दै आएका किसानका सबै भेडाबाख्रा जलेपछि हातमुख जोड्न समस्या हुने पीडित किसान कैलो बुढाले गुनासो गर्नुभयो । आयस्रोतको मुख्य आम्दानीका रुपमा पालिँदै आएका भेडा बाख्रा नष्ट हुँदा निकै ठूलो समस्यामा परेको उहाँको भनाइ छ ।
रासस