६ चैत्र २०८०, मंगलवार
Follow Us

सरकारबाटै ‘लुटिन्छन्’ विमानस्थलमा नेपाली


२४ माघ २०७५, बिहीबार ०७:४२

चिरन शर्मा । लण्डन – नेपाल सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको भन्सार शुल्क सम्बन्धी नयाँ नियमले प्रवासी नेपालीहरु मारमा परेको भन्दै गैरआवासीय नेपालीहरुले चर्को विरोध जनाएको छ।

झिटीगुन्टाको नाममा काठमाडौंस्थित त्रिभुवन विमानस्थल अध्यागमनमा नेपाल सरकारले लागू गरेको उक्त नयाँ नियमप्रति प्रवासी नेपालीहरुले समेत संघको विरोधमा समर्थन जनाउँदै विरोध सुरु गरेका छन्। सरकारको पछिल्लो कदमलाई मध्यपूर्व लगायतका देशमा कार्यरत नेपालीहरुले समाजिक संजाल मार्फत आलोचना सुरु गरेका हुन्।

सरकारले चालु आर्थिक वर्पदेखि विदेशबाट फर्किँदा ल्याउन पाइने केही वस्तुहरुलाई प्रतिवन्ध गर्दै नयाँ व्यवस्था गरेपछि पछिल्लो समय देखिनै विरोधका आवाजहरु उठेका थिए। सरकारले झिटीगुन्टा आदेशमा संशोधन मार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गर्दै भन्सारलाई कडाई गरेपछि विदेशवाट फर्किने कामदारहरुले चरम सास्ती भोग्दै आएका छन्।

सरकारको पछिल्लो कदमलाई विदेशमा बस्ने नेपालीहरुले सामाजिक संजाल मार्फत चर्को आलोचना गर्दै निर्णयमा पुनःविचार गर्न आग्रह समेत गरेका छन्।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले सामाजिक संजाल फेसबुकमार्फत विदेशमा श्रम गरेर फर्किएका नेपालीहरुलाई सरकारले सधैँ हेयको दृष्टिले हेरेको भन्दै आलोचना गरेका छन्। उनले फेसबुक मार्फत भने,‘ प्रवासी नेपालीहरुलाई हेपहा प्रवृत्तिको व्यवहार गरेको भन्दै वर्षभरि पसिना बगाएर श्रम बेची स्वदेश फर्कँदा ल्याउन पाउने सामानमाथि कडाई गर्दै जफत गरिनु दुर्भाग्यपूर्ण हो’

श्रमिकहरुले दुःख गरेर ल्याएको सामान जफत गर्नुलाई पनि सरकारले उपलब्धिको रुपमा प्रचार गरिनु दुर्भाग्यपूर्ण रहेको उनले बताए। उनले तोकिएको सीमा भन्दाबढीको प्रयोजनको लागि सामान ल्याएमा त्यस्ता सामान जफत गर्नुको साटो न्युनतम भन्सार शुल्क लगाए छोड्न सुझाएका छन्।

कतार बस्ने सन्तोष आचार्यले काठको बाकसमा फर्किने कामदारको शबमा पनि भन्सार लगाउँदा अझै राम्रो हुने भन्दै सरकारमाथि व्यंग्य गरेका छन्। उनले आगो भन्दा बढी पोल्ने गर्मीमा आधा पेट खाएर काम गरी कमाएको पैसाले केही सामान नेपाल लैजाँदा नियन्त्रणमा लिनु गलत भएको तर्क गरे।

बरु यसको सट्टा देशमा भएका ३३ किलो सुन, बाइडवडि, लडाकु शिबिरको घोटाला लगायत काण्डमा ध्यान दिन उनले सरकारलाई सुझाए। अमेरिकामा रहेका पत्रकार शैलेश श्रेष्ठले अघिल्लो पटक नेपाल जाँदा आफूले समेत अप्ठ्यारो अनुभूति गरेको वताए।

प्रवासमा रहेका नेपालीहरु बीच एउटा डरलाग्दो अविस्वासको मानोवैज्ञानिक पर्खाल खडा भएको भन्दै उनले राज्यद्वारा विदेशमा बस्ने नेपालीलाई पराई ठानेर नियम कानुन बनाइएपछि सरकारप्रतिको अविश्वास अझ बढ्दै गएको बताए।

वेलायतस्थित गैरआवासीय नेपाली संघका एक अभियान्ता कृष्ण तिमल्सेनाले विश्वका अन्य विमानस्थलमा जस्तै काठमाण्डौस्थित त्रिभुवन विमानस्थललाई पनि आवतजावतमा सहज पार्नु पर्नेमा जोड दिए। तिमिल्सीनाले विदेशमा दुःख गरेर कमाएर लगेको केही सामानलाई कानुन अनुरुप कर तिरेर लैजान पाउने व्यवस्था हुनु पर्नेमा जोड दिए।

उनले कर तिरेर पनि लैजान नपाउने हो भने सम्वन्धित व्यक्तिले विदेश फर्किदा आफ्नो सामान फिर्ता लैजान पाउनु पर्ने व्यवस्था गरिनु पर्ने धारणा राखे। यस्तै गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्रीले सरकारले कर सम्वन्धी जानकारी नेपाली दूतावास मार्फत दिनु पर्ने भन्दै सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीहरुप्रति बहादुरी देखाउन खोजेको आरोप लगाए।

सरकारले ल्याएको झिटीगुण्टा नयाँ आदेश यस आर्थिक वर्षदेखि कडाईका साथ कार्यान्वयनमा ल्याइएको हो। आदेशमा विदेशबाट काँचो सुन बोकेर ल्याउन नपाइने, काँचो सुन ल्याए विमानस्थलमै जफत हुने, मदिरा एक लिटर मात्रै ल्याउन पाइने, विमानस्थलबाट भन्सार तिरेर समान ल्याउँदा ४० प्रतिशत भन्सार तिर्नुपर्ने लगायत व्यवस्था गरिएको छ। सुनको हकमा गहनाको रुपमा विदेशमा रहेका नेपालीले १०० ग्रामसम्म सुन ल्याउन पाउँछन्। यसअघि सरकारले ५० ग्रामसम्म सुन ल्याउन दिने गरेकोमा यस आर्थिक वर्षको बजेट भाषणमा नयाँ व्यवस्था गरिएको थियो।

नयाँ झिटीगुन्टा आदेशले ल्यापटप वा कम्प्युटर, ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १–१ थान भन्दा बढी ल्याउन पाइने छैन। यस्तै बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १–१ वटा ल्याउन छुट दिइएको छ।

विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यवसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ। डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १–१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगयात व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन छुट दिइएको छ। यस्तै वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउनपाउँछन्। ३२ इन्चभन्दा ठूलो टेलिभिजन ल्याएमा अरुसरह नै ४० प्रतिशत भन्सार महसुल तिर्नुपर्छ।
-nagariknews