७ बैशाख २०८१, शुक्रबार
Follow Us

यसकारण देशभर वर्षा, शनिबारसम्म पानी गर्ने

नेपालब्रिटेन डट कम्
२४ माघ २०७५, बिहीबार १६:२७

काठमाडौँ–पश्चिमी वायुको प्रभावले आज देशैभर बदली र वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकामा दिनभर सिमसिमे वर्षा भएको थियो । लगातारको वर्षाले सर्वसाधारणलाई कठिनाइ भएको थियो । आज सबैभन्दा बढी जुम्लामा २३.२, वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा सात, धनगढीमा दुई र ताप्लेजुङमा एक मिलिमिटर वर्षा भएको छ । उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले आज बढी चिसो महसुस गरिएको थियो । न्यूनतम बादलले न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर १०.८ पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम चार र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको थियो ।

महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।