१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लक्की काण्डपछि परराष्ट्रले भन्यो, कार्यकाल सकिएपछि आफूसँगै सहयोगी फिर्ता ल्याउनु

नेपालब्रिटेन डट कम्
२६ माघ २०७५, शनिबार ०३:२७

काठमाडौं– सरकारले नेपाली कुटनीतिक नियोगहरुका नियोग प्रमुखलगायत कुटनीतिक कर्मचारीले साथमा लगेका निजी सहयोगीलाई कार्यकाल सकिएपछि आफूसँगै फिर्ता ल्याउनुपर्ने नियम बनाएको छ । हालै अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका अर्दली वाङ्चु शेर्पा लेनदेन काण्डमा विवादमा फसेसँगै सरकारले नयाँ नियम लागू गरेको हो । यो प्रकरणमा राजदूत शेर्पा समेत मुछिएकी थिइन् भने सोही प्रकरणमा उनी राजीनामा दिन बाध्य भएकी थिइन् ।

परारष्ट्र मन्त्रालयले एक परिपत्र जारी गर्दै सबै कुटनीतिक कर्मचारीले साथमा लगेका निजी सहयोगीलाई आफ्नो कार्यकाल समाप्त भएपछि सँगै नेपाल ल्याउन निर्देशन दिएको छ । यसअघि सम्बन्धित कुटनीतिक कर्मचारी स्वदेश फर्किएपछि उनीहरुका सहयोगी सँगै आउने गरेका थिएनन् । अर्थात विभिन्न बहानामा कुटनीतिक कर्मचारीले सहयोगीलाई विदेशमै छाडेर आउने गरेका थिए । यो समस्या मुख्यतः अमेरिका, बेलायत, क्यानडा, जापानलगायतका देशमा पुगेका नीजि सहयोगीमा देखिएको थियो ।

नियोगहरुमा खटिएका राजदूत तथा कुटनीतिक कर्मचारीले पाउने सुविधाबारेको निर्देशिकामा राजदूतले दुईजना र कुटनीतिक कर्मचारीलाई एक जना निजी सहयोगी लैजान सक्ने छुट छ । निजी सहयोगीले कार्यालय सहयोगीसरह तलब र वैदेशिक भत्ता पाउने गरेका छन् ।

विदेशमा रहेका नेपाली नियोगहरुमा खटिएका राजदूतहरुले आफ्ना नातागोता समेत भर्तिकेन्द्र बनाउने आरोप लागे पनि मन्त्रालयले सो आरोपका बारेमा केही बोलेको छैन ।