१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जीवन शर्मा निलम्बनबारे मसालले भन्यो– हामी सबैकुरा गोप्य राख्छौं !


२६ माघ २०७५, शनिबार १३:४८

काठमाडौं– नेकपा (मसाल)बाट चर्चित जनगायक जीवन शर्मा निलम्बनमा परेको भन्ने समाचारबारे पार्टीले एक विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा नेकपा (मसाल) भूमिगत पार्टी भएको तथा महामन्त्री र प्रवक्ता बाहेक पार्टीका विभिन्न कमिटीहरुमा वा अन्यत्र को सदस्य छन् भन्ने कुरा गोप्य राखिने गरिएको उल्लेख गरिएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको कुनै कमिटिमा निर्वाचन, पदोन्नती वा कसैमाथि गरिने अनुशासनका कारवाहीहरु बारे पनि जानकारी नदिने हाम्रो प्रणाली रहेको छ । त्यो अवस्थामा जीवन शर्मा पार्टीको कुनै समितिमा वा पार्टी सदस्यपनि हुनुहुन्छ वा हुनुहुन्न ? त्यो सार्वजनिक छलफलको विषय होइन ।’
‘विभिन्न पत्रपत्रिकाहरुमा जीवन शर्माले अल्पमत पक्षको समर्थन गरेको हुनाले उहा“लाई कारवाही गरिएको भन्ने समाचार पनि प्रकाशित गरिएको पाइएको छ ।

प्रथमतः हाम्रो पार्टीको संगठनात्मक प्रणाली भूमिगत भएको हुनाले कुनै व्यक्ति पार्टीको सदस्य छ वा छैन भन्ने कुरा सधैं गोप्य रहने गर्दछ ।त्यो बाहेक पार्टीले कहिल्यै पनि मतभिन्नताका आधारमा कसैमाथि कारवाही गर्दैन । कसैद्वारा पार्टीको विधान, नियमावली, नीतिहरुको उल्लंघन गरिएको अवस्थामा नै गल्तीको स्तर अनुसार कसैलाई आलोचना गर्ने, चेतावनी दिने, निलम्बन गर्ने, कुनै कमिटीबाट हटाउने, कुनै खास कमिटी वाजिम्मेवारीबाट हटाउने, समय तोकेर निस्कासित गर्ने वा अनिश्चितकालका लागि निस्कासित गर्ने गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ त्यस प्रकारका कारवाहीहरु सम्बन्धित व्यक्तिलाई स्पष्टिकरण दिने मौका दिएर नै गर्ने गरिन्छ ।’
विज्ञप्तिमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मा बारे पत्रपत्रिका र सामाजिक सञ्जालमा आएका समाचारहरु भ्रामक रहेको दाबी गरिएको छ ।