१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनाव, पैसा र सत्ताको दुष्चक्रले देश बनेन् – डा. बाबुराम भट्टराई


२६ माघ २०७५, शनिबार १३:५५

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताउनु भएको छ ।
जनसंवाद यात्राको १२औं दिन नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रममा डा. भट्टराईले यस्तो बताउनु भएको हो । बिदुरमा आयोजित अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘ केही मुठ्ठिभर कमिशनखोरहरु छन् । उनीहरुको कुनै पार्टी हुँदैन । जो सत्तामा आउँछ त्यसैको पछि लाग्छन् ।’

‘कांग्रेस आए हाम्रा बाजे पनि कांग्रेसमा लाग्नुभएको थियो भन्छ्न् । कम्युनिष्ट आए मेरो त सबै कम्युनिष्ट हो भन्छन् त्यही वर्गले नै भष्टाचार गर्छ र कमिशनबाट कमाएको अलिकति नेतालाई बुझाउँछ । र साथीहरु त्यसैबाट चुनाव जित्नु हुन्छ र सत्तामा जानु हुन्छ’, उहाँले थप्नुभयो ‘जबसम्म यो दुष्चक्र तोडिदैन तबसम्म राजनीति शुद्ध हुँदैन । यी मानिसलाई समातेर ठिगुरामा राख्ने हो भने र नेताहरुले पुरै अब हामी कसैको घुस खादैनौ र खुला र पारदर्शी हाम्रो जीवन छ भनेर सामान्य ढंगले हिड्न थाल्ने हो भने सुध्रिन्छ ।’

देश विकास गर्नका लागि हिजोको विचार र क्षमताले नपुग्ने देखेर नै आफूहरुले नयाँको बिउ रोपेको संयोजक भट्टराईले स्पष्ट पार्नुभएको थियो । ‘हामीले नयाँ बिउ रोपेका छौं र नेपाललाई समर्द्ध र विससित बनाउनका लागि नयाँ अभियान सञ्चालन गरेका छौं’, सक्नु होला साथ दिनुहोला र नसकेमा बाटो नछेक्नु होला’, संयोजक भट्टराईले भन्नुभयो ।

त्यस्तै देश बनाउन गोलीका छर्रामुनि हिडेका मानिसहरु नै सत्तामा पुगेपछि समेत भ्रष्टाचार बढ्नु चिन्ताको विषय भएको बताउनु भएको थियो । ‘ मुलुक रुपान्तरण गर्न ज्यानको बाजी राख्नेलाई कसरी खराब भन्ने ? सबैभन्दा बढी ज्यान जोखिममा हाल्ने माओवादी सत्तामा आएपछि पनि किन भ्रष्टाचार बढ्यो ?’ उहाँले भन्नुभयो, ‘गोलीका छर्रामुनि हिडेका मानिस नै सत्तामा पुगेपछि भ्रष्टाचार बढ्नु राम्रो कुरा होइन ।’ नेताले देशको सम्पत्ति जनताको हो भनेर काम गरे मात्रै मुलुकलाई समृद्ध र विकसित बनाउन सकिने संयोजक भट्टराईको भनाइ थियो ।
राजनीतिमा विकृति आउनुका कारणहरु पहिचान गर्न डा. भट्टराईले आग्रह समेत गर्नुभयो। ‘हामीले व्यक्तिभन्दा पनि प्रवृत्तिलाई बुझ्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मान्छे मुलुत निस्वार्थी र सामाजिक प्राणी हो तर विकासक्रमसँगै स्वार्थी लोभीपापी समेत हुन पुगेको छ ।’ आर्थिक, सामाजिक र राजनीतिक प्रणालीले नै मानिसले कस्तो व्यवहार गर्छ भन्ने कुरा निर्धारण गने उहाँको तर्क थियो ।
‘नेता भनेका जनताका सेवक हुन् भन्ने सेवाभावबाट राजनीति निर्देशित भएमात्रै राजनीति सफा हुने तर्क समेत संयोजक भट्टराईले राख्नुभएको थियो । ‘नेता भनेका जनताका सेवक हुन्, त्यसैले सामाजिक प्रवृत्तिलाई बढावा दिने र लोभीपापी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा हिजोका राजा महाराजाले जसरी शासकको रुपमा प्रस्तुत हुनुहुन्न । हरेक नेता-कार्यकर्ताले आफूलाई सेवकको रुपमा प्रस्तुत गर्नुपर्छ ।’
त्यस्तै अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरेर मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न सकिने संयोजक भट्टराईको भनाइ थियो । लोकतन्त्र जति तल गयो त्यति नै राज्यको दमनकारी कमजोर हुन्छ र जनता अधिकारसम्पन्न हुन्छ्न्’, उहाँले भन्नुभयो, ‘लोकतन्त्र जति तल जान्छ त्यति नै यो मजबुत हुन्छ र यसका लागि अधिकारी तल्लो तहलाई हस्तान्तरण गर्नुपर्छ ।’
अहिलको विकासको गतिले नेपाल छिटो समृद्ध हुन नसक्ने संयोजक भट्टराईले बताउनु भएको थियो । ‘अहिलेको विकासको गतिले समृद्ध हुन हामीलाई सय वर्ष लाग्छ, त्यसैले तीव्र विकासको आवश्यक पर्छ’, उहाँले भन्नुभयो, ‘कम्तिमा पनि २ दशकसम्म प्रत्येक वर्ष दुई अंकको आर्थिक विकास हुनुपर्छ ।’ यसका लागि वृहत् खालका राष्ट्रिय गौरवका आयोजना सुरु गर्नुपर्ने, कृषकलाई अनुदानको व्यवस्था गर्नुपर्ने, सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।