१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरुवा –बढुवाका लागि अब कसैले पनि उच्च तहकालाई रिझाउनु पर्दैन : प्रम ओली

sarusaru
२९ माघ २०७५, मंगलवार ०६:४४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको सरुवा बढुवालगायतमा अब कसैले पनि हाकिम र उच्च तहकालाई रिझाउनु नपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रहरी निरीक्षकको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले प्रहरी कर्मचारीको बढुवालगायतमा न्यायोचित प्रणाली स्थापना गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको बताए ।
उनले प्रहरीको काम शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै भने, ‘हाकिम र माथिकाको दलाली नगर्नुस्, प्रहरी दलाली गर्न होइन, दमन गर्न पनि होइन । प्रोमोशन हुनको लागि कसैलाई रिझाउनु पर्दैन । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रमोशन गर्न न्यायोचित प्रणाली स्थापना गर्न निर्देशन भइसकेको छ।’
उनले न्यायोचित प्रणालीको विकासपछि सरुवा बढुवालगायतमा कसैले पनि भेदभाव भएको महसुस गर्न नपर्ने भन्दै गर्वका साथ कार्यक्षेत्रमा खटिन प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
ओलीले सरकार कुनै पनि पक्षपात, कोशेली वा चाकडीको पक्षमा नरहेको भन्दै यसलाई निर्मूल पार्न सरकार लागिपरेको पनि जानकारी दिए ।
प्रहरीलाई अरु देशको भन्दा कुनै पनि हिसावमा कमजोर बनाउन नदिइने भन्दै प्रधानमन्त्री ओलीले आवश्यक भौतिक, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।