१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजधानीमा दुई अर्ब बढीको मासु व्यापार

नेपालब्रिटेन डट कम्
१७ आश्विन २०७३, सोमबार ०६:२७

काठमाडौं । दसैंको अवसरमा राजधानी काठमाडौंमा मात्रै एक अर्ब रुपैयाँभन्दा बढीको मासु व्यापार हुने कृषि विकास मन्त्रालयको आंकलन छ । राजधानी काठमाडौंमा करिब ४० लाख मानिसको बसोबास छ । जसमध्ये आधा जसो दसैं मान्न राजधानी बाहिर जान्छन् । २० लाखले मासुका लागि सरदर प्रतिव्यक्ति एक हजार रुपैयाँ खर्च गरेछन् भने पनि दुई अर्ब रुपैयाँको मासुको व्यापार हुन्छ ।
एक साताभित्रै दुई अर्ब रुपैयाँ बढीको मासु व्यापार हुनु भनेको निकै ठूलो कुरा हो । व्यापारीहरूले पनि त्यहीअनुसारको लगानी गर्ने गर्दछन् । यस वर्षको दसैंमा करिब दुई लाख किलो अस्ट्रिचको मासु राजधानी भिœयाउने तयारी व्यापारीहरूले गरेका छन् । हाड भएको नौ सय र हाड नभएको १४ सय रुपैयाँ प्रतिकिलोमा राजधानीमा अस्ट्रिचको मासु बिक्री हुँदै आएको छ । यस हिसाबले पनि २४ करोड रुपैयाँको त अस्ट्रिचको मासुमात्रै राजधानी भित्रिने भएको छ ।
अस्ट्रिच नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक सीपी शर्माका अनुसार चार वर्षअघि भैरहवा, बुटवल र काठमाडौंका उपभोक्तालाई लक्षित गरी अस्ट्रिच चराको मासु बजारमा ल्याउने गरेकोमा गत वर्षदेखि पोखरा, चितवनलगायतका अन्य बजारमा समेत पठाउन थालिएको थियो । यसपटक १८० टन अस्ट्रिच चरा र २० टन ईमु चरा (अस्ट्रिचभन्दा अलि सानो) गरी दुई सय टन मासु पठाउन लागिएको उनको भनाइ छ । पर्वलाई भनेर कम्पनीले मासुको मूल्यसमेत घटाएको जनाएको छ । हाडसहितको प्रतिकिलो आठ सय ९० र हाड नभएको मासु प्रतिकिलो १४ सय ९० रुपैयाँ निर्धारण गरिएको उनले बताए । शरीरका लागि निकै स्वस्थकर मानिएको अस्ट्रिचको मासुमा पूर्णरूपमा कोलस्टोल फ्री हुने बताइन्छ । अस्ट्रिचमा अत्यधिक खनिज भिटामिन रहेकाले पनि यसको मासु निकै स्वस्थबद्र्धक हुने चिकित्सकहरूको भनाइ छ ।
खसी–बोकाको आयात दोब्बर
दसैं नजिकिँदै गर्दा भारतबाट नियमित आउने खसी–बोकाको आयात हाल दोब्बर भएको छ । बकर इदलगत्तै दसैं–तिहार परेकाले भारतबाट पहिलेको तुलनामा दोब्बर बढी खसी–बोका आउन थालेको वीरगन्ज, भैरहवा, विराटनगर र नेपालगन्जका पशु क्वारेन्टाइन चेकपोस्टले जनाएका छन् । दसैंमा नेपालको खसीबोकाले मात्रै माग पूर्ति गर्न नसक्ने भएकाले भारतबाट आयात हुने गरेको हो । यसअघि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा खसी–बोका भारतबाट आउने गरेकोमा हाल दैनिक ६ सयभन्दा बढीको संख्यामा आयात भइरहेको पशु क्वारेन्टाइन चेकपोस्ट नेपालगन्जले जनाएको छ ।