१५ बैशाख २०८१, शनिबार
Follow Us

चट्याङ लागेर टेलिकमको टावरमा क्षति पुगेपछि फोन सेवा अवरुद्ध

sarusaru
१ फाल्गुन २०७५, बुधबार ०२:४७

बाजुरा । चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ। खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए।

टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन सेवा अवरुद्ध भएको छ। तीन दिनदेखि साविक आँटीचौर, गुदुखाती, डोगडीलगायतका आसपास क्षेत्रको सम्पर्कविच्छेद भएको छ।

टावरमा जडान गरिएका १५ वटै सोलारका पाता चट्याङ लागेर जलेको बताइएको छ। डोगडी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीका अनुसार पाता काम नलाग्ने गरी जलेको र टावरमा समेत क्षति पुगेको वडाध्यक्ष रावतले बताए।

उनका अनुसार टेलिकमको टावरमा खबर गर्दा प्राविधिक पठाएर अवस्था बुझ्ने बताएकाले फोन सञ्चालनमा ढिलाइ हुने देखिएको छ। फोन पूर्णरूपमा अवरुद्ध भएपछि स्थानीय उपभोक्तालाई खबर आदानप्रदान गर्न समस्या भएको छ।

त्यस्तै कालाजग्रामा रहेको नेपाल टेलिकमको टावरमा पनि चट्याङकै कारण क्षति भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मनबहादुर रोकायाले जानकारी दिए। जसका कारण कोल्टी क्षेत्रका नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएको रोकायाले बताए।

टावर रहेको क्षेत्रमा अहिले पनि तीन फिट बढी हिँउ जमेका कारण मर्मत गर्न केही दिन लाग्ने अधिकारी रोकायाले बताए। चट्याङकै कारण सिल्पेलेखमा रहेको सुविसु कम्पनीको टावरमा पनि क्षति पुगेको छ।
रासस