११ बैशाख २०८१, मंगलवार
Follow Us

गोर्खा मुद्दा बारे सांसद योगेश भट्टराई र बेलायती राजदूत रिचार्डबीच छलफल

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७५, शुक्रबार १४:२२

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईसँग भेट गरेका छन् ।

राजदूत मोरिसले बेलायती सेनाबाट अवकास प्राप्त भूूत पूर्व गोर्खा सैनिकहरुले उठाउँदै आएका माग र समस्याहरुबारे छलफलका लागि भट्टराईसँग भेट गरेका हुन् । राजदूत मोरिसले भट्टराईसँग शुक्रबार भेटेर भूत पूर्व गोर्खा सैनिकहरुको माग र पछिल्लो अवस्थाको बारेमा भट्टराईसँग कुराकानी गरेका हुन् । सांसद भट्टराईले नेपाल र बेलायत सरकारबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल र बेलायतबीचको सम्बन्धको एउटा कडी गोर्खाहरुको समस्या र मागका बिषयमा राजदूतको ध्यानाकर्षण गराए ।

सन् १८१६ को सुगौली सन्धीपछि आजसम्म नेपाली युवाहरु बेलायती सैनिकमा भर्ना भएर काम गरिरहेको तर, उनीहरुमाथि विभेद रहेको उल्लेख गर्दै सांसद भट्टराईले समस्या सम्बोधनका निम्ति पहल गर्न ध्यानाकर्षण गराए । सांसद भट्टराईले नेपाली युवाले बेलायती सेनामा भर्ना भएर दिएको योगदान र बलिदानको सम्झना गराउँदै उनीहरुमाथिको विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सांसद भट्टराईले १ जुलाई १९९७ अघि सेवानिवृत्त गोर्खा सैनिकहरुको पेन्सनमा विभेद रहेको भन्दै गोर्खाहरुको पेन्सन पनि बेलायती नागरिक सरह बनाउन पर्नेमा जोड दिए । गोर्खाहरुको अभियान र आन्दोलनपछि १ अक्टोबर १९९३ पछि भर्ती भएका गोर्खाहरूको पेन्सन र तलब १ अप्रिल २००७ बाट बेलायती नागरिक समान बनाएको थियो ।

यही समस्या सम्बोधन गर्नका निम्ति ३० मार्च २०१७ मा बेलायत सरकार, नेपाल सरकार ९लण्डनस्थित नेपाली दूतावास० र गोर्खाहरुको प्रतिनिधि सहभागी प्राबिधिक समिति बन्नु सकारात्मक भएको उल्लेख गर्दै उनले त्रिपक्षीय प्राविधिक समितिले तयार पारेको प्रतिवेदन अनुरुप गोर्खाहरुको माग सम्बोधनका गरिनुपर्नेमा जोड दिए ।

त्रिपक्षीय प्राबिधिक समितिले गत २२ मार्च २०१८ ब्रिटिस सरकार र नेपाल सरकारलाई बुझाएको उल्लेख गर्दै ब्रिटिस रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले एक महिनाभित्र बेलायत र नेपाल सरकारस्तरीय वार्ता समिति बन्ने र माग सम्बोधन गरिने बताएको संस्मरण गराए ।

दुई देशबीचको उच्चस्तरीय वार्ता समिति बनाएर गोर्खाहरुको माग सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए । सांसद भट्टराईले गोर्खा सैनिकहरुको पेन्सन ‘भारतीय रिजर्भ बैंक’ मार्फत आएको भन्दै सिधै नेपाल राष्ट्र बैंकमा पठाउनका निम्ति ध्यानाकर्षण गराए ।

यस्तै गोर्खाहरुलाई नेपालमै बेलायत सरहको स्तरीय स्वास्थ्य सुविधा, कटौतीमा परेका गोर्खाहरुलाई पेन्सनको व्यवस्था, युद्धपीडितहरुलाई क्षतिपूर्ति र सम्मान, अमेरिकाको हवाइ काण्डका पीडितहरुलाई क्षतिपूर्ति, गोर्खा कल्याणकारी कोषको पैसा गोर्खाहरुको हितमा प्रयोगलगायतका बिषयमा राजदूतसँग कुराकानी गरेका छन् ।