१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनखानी पुगेर गगन थापाले निकाले १४ करोड अनियमितताको प्रसङ्ग

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७५, शुक्रबार १६:५०

काठमाडौं– काँग्रेस प्रभावशाली नेता गगन थापा केही पहिले आफूले बाख्रा पालन गरेको नुवाकोटको सुनखानी पुगेका छन् ।
शुक्रबार नुवाकोटको राउतबेसी जाने क्रममा उनी सुनखानी पुगेका हुन् ।
त्यहाँ पुगेर उनले केही समूहले गलत आरोप लगाएको प्रति कटाक्ष गरेका छन् । ‘आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्यो’ उनले भनेका छन्, ‘केही महानुभावहरूका अनुसार मैले सरकारी कोषबाट यही ठाउँ देखाएर १४ करोड हिनामिना गरेको हुँ रे।’
उनले आफूमाथि लागेको यो आरोपको छानबिन गर्न चुनौति पनि दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी ‘खसी’ सार्वजनिक गर्दिने विश्वास लिएको छु ।’
गत प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अघि तत्कालीन एमालेका कार्यकर्ताहरुले थापाले कृषी सम्वन्धी अनुदान लिएर अनियमितता गरेको भन्दै प्रचार गरेका थिए ।
विशेषगरी काठमाडौं महानगरका पूर्व मेयर तथा हालका प्रदेश सांसद केशव स्थापितले बाख्रा पालनका लागि भन्दै थापाले व्यवसायीक कृषि आयोजना केन्द्र (प्याक्ट) मार्फत् अनुदान लिएको तर बाख्रा पालन नगरेको भन्दै प्रचार गरेका थिए । स्थापित जस्तो जिम्मेबार व्यक्तिले गैरजिम्मेबार प्रचार गरेको र त्यसैलाई आधार बनाएर केही संचार माध्यमहरुले गलत समाचार सामग्री बनाएको भन्दै प्याक्टले प्रेस विज्ञप्ती नै प्रकाशित गरेर स्थापितले गलत प्रचार गरेको स्पष्ट पारेको थियो ।

त्यतिबेला थापाले पनि आफ्नो पहिलो चुनावी सभामा आफ्ना विरुद्धमा अनेकौ भ्रमक समाचार आउने भएकाले त्यसको पछि नलाग्न आह्वान गरेका थिए । हाल थापा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद हुन् ।
आफ्नै लगानीमा चार जनाले सुरु गरेको सुनखानी एकिकृत कृषि केन्द्रले कसैको एक रुपैया वा एक पैसा पनि नलिएको नेता थापाले दावी गर्दै आएका छन् ।