१६ चैत्र २०८०, शुक्रबार
Follow Us

साढे २३ किलो सुन पचाउने खेल विफल, मोबाइलले यसरी खोल्यो पोल

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार ०१:४३

काठमाडौं – मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पार्‍यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पुर्‍याएर जिम्मा लगायो। त्यस गाडीमा सुन थियो भन्ने पुसको दोस्रो सातामात्रै प्रहरीले थाहा पायो। त्यसै सेरोफेरोमा प्रहरी हबलदार सुरज तिरुवाले आफ्ना दाजु लक्ष्मण हराएको भन्दै काठमाडौं लैनचौरस्थित प्रहरी बृत्तमा उजुरी दिए। त्यसपछि प्रहरी प्रधान कार्यालय अपराध विभाग र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई लक्ष्मणलाई खोज्न निर्देशन दिए। ब्युरोले अनुसन्धान थालेलगत्तै उनको मोबाइल म्यासेज हेर्न थाल्यो, जसमा सुन सुरक्षित रहेको जस्ता कुरा पाइएपछि अनुसन्धान लक्ष्मणभन्दा पनि सुन खोज्नेतर्फ केन्द्रित भयो।

लक्ष्मणको मोबाइल ट्रेस गर्दा कहिले सोलु, कहिले दाङ, कहिले पोखरा त कहिले काठमाडौं देखियो। अन्त्यमा ब्युरोले लुकाएको सुन फेलामात्रै पारेन, लक्ष्मणलाई पनि पक्राउ गर्‍यो। लक्ष्मणले दिएको जानकारीअनुसार उनले १४ पटक सोही गाडीमा दिल्लीबाट अयोध्या सुन ओसारेका छन्। पछिल्लोपटक दिल्लीबाट साहुजीले गाडीमा सुन हालिदिएपछि लिएर अयोध्या पुगेमा उनले तत्काल सम्बन्धित मानिस भेट्न सकेनन्। उनको मनमा फट्याइँ गर्ने सोच आयो। त्यसपछि उनी सुनसहितको गाडी हैदराबाद हुँदै नेपाल ल्याए। नेपाल आएपछि उनले प्रहरी हबलदारसमेत रहेका भाइ सुरजलाई सबै कुरा बताए। त्यसपछि दुई भाइले सुन ठेगान लगाउने उपाय खोज्दाखोज्दै गाडी हराएको उजुरी पर्‍यो। उनीहरुले सुन ठेगान लगाउन सकेनन्। गाडीलाई कोहलपुरको अतिथि होटलमा छाडेर लक्ष्मण फरार भए। सुरज भने सुन व्यवस्थापनतिर लागे। गाडी साहुले भारत लगे। गाडीमा सुन नभेटेपछि साहुजीका मानिस लक्ष्मणको घर पुगेर सुन नदिए सबैलाई मारिदिने धम्की दिए। नागरिक दैनिकमा खबर छ ।