१६ चैत्र २०८०, शुक्रबार
Follow Us

घूसकाण्डमा मुछिएका पाठकमाथि अब कसरी कारबाही ?

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार ०२:११

काठमाडौँ — घूस खाएको आरोप खेपेका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि अबको कारबाहीबारे अन्योल देखिएको छ । कतिपय कानुनविद्ले अब अख्तियारले नै पाठकमाथि छानबिन गरेर दोषी देखिए भ्रष्टाचार आरोपमा कारबाही चलाउन सक्ने बताएका छन् भने कतिपयले संवैधानिक पदाधिकारीको हकमा महाअभियोगबाट प्रमाणित नभएको अवस्थामा अख्तियारले हात हाल्न नसक्ने बताएका छन् ।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले संविधानका नजरमा सबैलाई समान व्यवहार हुने भनिएपछि कुनै अमूक पदमा रहेकै कारणले कुनै व्यक्तिले उन्मुक्ति पाउन नमिल्ने बताए ।

संविधानले कुनै सार्वजनिक पदधारीलाई विशेष उन्मुक्ति नदिएको भन्दै उनले त्यसकै आधारमा छानबिन दायराबाट बाहिर नहुने बताए ।
पूर्वसहन्यायाधिवक्ता डिल्लीरमण आचार्यले राजीनामा गरेर हिँडेका संवैधानिक पदाधिकारीमाथि अख्तियारले छानबिन गर्न संवैधानिक तथा कानुनी जटिलता हुन सक्ने बताए ।

संवैधानिक कानुनका ज्ञाता डा चन्द्रकान्त ज्ञवालीले भने सार्वजनिक पदधारी व्यक्तिमाथि अख्तियारले स्वभावैले अनुसन्धान गर्न पाउने बताए । ‘न्यायाधीश, संवैधानिक पदाधिकारीमाथि पदमा रहेका बेलामा कारबाही चलाउन नपाउने व्यवस्था राज्यका निकायहरूबीच शक्ति सन्तुलनका लागि हो’, उनले भने, ‘संविधानले अनियमितता हुँदा पनि कारबाही गर्न नसक्ने शून्यताको अवस्था छाडेको छैन कि अरू छुट्टै निकायको व्यवस्था हुनुपर्‍यो । नभए अख्तियारले कारबाही अघि बढाउन सक्छ ।’

घूसखोरीको आरोपमा राजीनामा गरेका पाठक भाग्न सक्ने आशंकामा उनीमाथि निगरानी थालिएको छ । अख्तियारसँगको समन्वयमा सुरक्षा निकायले पाठकमाथि निगरानी गरेको प्रहरी मुख्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘उनी मुलुक छाडेर हिँड्न खोजे गिरफ्तारको निर्णयसम्म हुन सक्छ ।’
-कान्तिपुर