१२ बैशाख २०८१, बुधबार
Follow Us

म्याग्दीको गलेश्वरमा ४६ फिट अग्लो त्रिशुल स्थापना

sarusaru
४ फाल्गुन २०७५, शनिबार ०३:३०

म्याग्दी -पश्चिम नेपालका पशुपतिनाथको नामले चिनिने गलेश्वर शिवालय धाममा ४६ फिट अग्लो त्रिशुल स्थापना गरिएको छ । सो त्रिशुल गण्डकी प्रदेशका मन्दिरहरुमा रहेका त्रिशुलहरुमध्ये सबैभन्दा अग्लो भएको दावी गरिएको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको बेनी नगरपालिका ९ मा ९ रोपनी क्षेत्रफलको एउटै बिशाल शिलामाथि अवस्थित गलेश्वरमा बिहीवार स्थानीयवासी मानकुमारी शेरचन, उहाँका छोराहरु भलप्रसाद र गणेश शेरचनले त्रिशुल स्थापना गर्नुभएको हो । त्रिशुल स्थापना भएपछि गलेश्वरको आकर्षण बढेको गलेश्वर क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । फलामको त्रिशुलको बाहिरी भाग तामाले लेपन गरिएको छ ।

म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वरमा भौतिक पूर्वाधारहरुका निर्माण हुने क्रम बढेको छ । यहाँ धर्मशाला, हवनकुण्ड, पाकशाला, उद्यान, संस्कृति विद्यालय, सभाहल, चमेनागृह र कालीगण्डकीमा स्नान गर्न जाने आउनेका लागि व्यवस्थित पदमार्ग समेत निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि विभिन्न दाताहरुको सहयोग प्राप्त हुनुका साथै गलेश्वरमा चढेको भेटी रकम प्रयोग हुने गरेको छ । यहाँ साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीमा बिशेष मेलाका साथै दैनिक पुजाआजा हुने गर्छ ।