१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पशुपति शर्मालाई बालुवाटारबाट दवावै आएको हो ? युट्यूवबाट हटाए गीत

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार १६:१९

काठमाडौं– गायक पशुपति शर्माले विवादित बनेपछि ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गीत युट्यूव च्यानलमार्फत हटाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले गीतबाट कसैले चोट पुग्न गएको भए माफी मागेको बताएका छन् ।

उनले भनेका छन्, ‘‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु ।’

‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु’, उनले भनेका छन्, ‘अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युवबाट मैले हटाउने निर्णय गरेको छु ।

यद्यपि देशको देशको एक सचेत नागरिकका साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्द आवाज उठाउन पाउने आफ्नो नैसर्गीक अधिकार भएको पनि उनले बताएका छन् ।

उनले सार्वजनिक गरेको गीतमा राष्ट्पति, प्रधानमन्त्रीसहित व्यक्तित्व र भ्रष्टाचार र अनियमिततामाथि चोटिलो प्रहार गरेका थिए । जसमा केही अपात्य शब्द समेत प्रयोग गरिएको भन्दै समाजिक सञ्जालमार्फत विभिन्न प्रतिक्रिया आएका थिए ।
कतिपयले सरकारी तहबाट दवाव आएपछि शर्माले यो गीत हटाएको आशंका गरेका छन् । शनिबार केही अनलाइन सञ्चालमाध्यमले शर्माको गीतले प्रधानमन्त्री निवास बालुवाटार र सत्तारुढ दल नेकपामा गीतलाई प्रतिबन्ध लगाउनेसम्मबारे छलफल भएको खबर सार्वजनिक भएका थिए ।