६ बैशाख २०८१, बिहीबार
Follow Us

बिहेको ९ वर्षपछि श्रीमतीले हालिन् श्रीमानविरुद्ध बलात्कार मुद्दा, गाउँले चकित

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७५, शनिबार १६:५१

डोटी– जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध निजकै श्रीमती कल्पना फुलाराले आफूलाई जबरर्जस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरेकी छिन् ।

आफ्ना श्रीमान्ले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले प्रहरी कार्यालयमा फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए । उनले भने, “श्रीमान्ले जबरजस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमान्लाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ ।”

आफ्नै श्रीमान्ले बलात्कार गर्न खोजेको भन्ने विषयमा डोटीमा श्रीमतीले मुद्दा दर्ता गराएको यो पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमान् डिल्लीराजलाई दुई वर्ष ६ महीना जेल सजाय हुनसक्ने नियम रहेको छ ।

डिल्लीराज र कल्पनाबीच विवाह भएको करीब आठ÷नौ वर्षभएको र उनीबाट दुई वटा सन्तान समेत जन्मिसकेको प्रहरीले जनाएको छ । विवाह भएको यतिलामो समयपछि किन श्रीमतीले श्रीमान्विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिन यो भने निकै रहस्यमय रुपमा हेरिएको स्थानीयवासी बताउँछन् ।