८ बैशाख २०८१, शनिबार
Follow Us

जेल जान सक्छन् अख्तियारका ‘घुस्याहा’ पाठक

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७५, आईतवार ०१:४९

काठमाडौं – भ्रष्टाचार मुद्दामा ‘ठूला माछा’ भनिएकाहरू अदालतबाटै धरौटीमा उम्कने क्रम चलिरहेको छ । यो क्रमको सिलसिलासँगै घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिएपछि उनी पनि कानुनी कारबाहीबाट उम्कन सक्ने आशंका बढेको छ ।

आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग ७४ करोड रुपैयाँ घुस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएपछि उनको घुस प्रकरणको विषय अहिले चर्चामा छ । संविधानले दिएको अधिकार प्रयोग गर्दै अख्तियारले यसलाई नै अनुसन्धानको विषय बनाउन सक्छ । यदि यही घुस प्रकरणलाई लिएर अख्तियारले अदालतमा मुद्दा चलायो र त्यो प्रमाणित भयो भने पाठक कम्तीमा ९ देखि १२ वर्षसम्म जेल जान सक्छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ले घुस लिने व्यक्तिलाई बिगोबमोजिम जरिमाना गर्नुपर्ने भनेको छ । सो दफामा ५० लाखदेखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ वर्षदेखि ८ वर्षसम्मको कैद हुने भनिएको छ । यही ऐनको उपदफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घुस लिएको प्रमाणित भए थप तीन वर्षसम्म कैद सजाय पाउने उल्लेख छ । राजधानी दैनिकमा खबर छापिएको छ ।