१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजीनामा दिएका पाठकलाई तत्काल कारबाही गर्नुपर्छ : पूर्व मन्त्री तामाङ

sarusaru
५ फाल्गुन २०७५, आईतवार १२:१९

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले भने,‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’
उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । उनले भने,‘अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । अर्को भनेको नैतिकताको ह«ास हो। यी दुवै कुरालाई सच्याउनुपर्छ ।’
तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन् । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन् । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’
उनले अख्तियारको आयुक्त नै यसरी भ्रष्टाचारमा मुछिनु गम्भिर अपराध भएको टिप्पणी गरे । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले अदालतमा पछिल्लो समय उज्यालो किरण देखापरेको बताए । तामाङले भने,‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु। अब कारबाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’
फरक प्रसँगमा उनले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गरे । उनले भने,‘स्वयम प्रधानमन्त्रीज्यूले पनि यो पहिलो वर्ष आधार वर्ष भयो भन्नुभएको छ । ऐन, कानुन बनायौं । जनताले भनेजस्तो रिजल्ट नआएको सत्य हो, तर सरकार असफल भयो भन्न मिल्दैन् ।’
उनले सरकारले अघि बढाएका राम्रा कामहरु जनतासामू पार्टीले पुर्याउन नसकेको बताए । उनले भने,‘पार्टीको सांगठनिक एकताका काम अघि बढाउन नसक्दा सरकारले अघि बढाएका राम्रा कामहरुको प्रचार भएको छैन् । जनतासामु सरकारका कामहरु पुर्याउन सकिएको छैन् ।’
प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको ग्राफ हेर्दा आफूले सरकारलाई सफल भएको मान्ने पनि तामाङको भनाई थियो । उनले भने,‘म त यो ग्राफ हेर्दा सरकार सफल भएको देख्छु ।’
यद्धपी उनले केही पत्रपत्रिकाहरुले राष्ट्र बैंकको हवला दिँदै अन्य तथ्यांक पेश गरेकोप्रति टिप्पणी गर्दै भने,‘सरकारलाई एउटा तथ्यांक दिने, अनि पत्रिकालाई अर्को तथ्यांक दिने काम राष्ट्र बैंकका पदाधिकारीहरु गर्नु हुँदैन । गलत तथ्यांक दिनेहरुलाई कारबाही गर्नुपर्छ ।’ उनले सरकारले गर्नुपर्ने कामहरु गरेरै अघि बढेको पनि दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’
जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए । उनले भने,‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’
सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । उनले भने,‘तथ्यांकलाई प्ले गर्न सकिन्छ, तर प्रधानमन्त्रीले तथ्यांक नभईकन मिथ्यांक पेश गर्नुभयो । उहाँले तथ्यांक दिने निकायहरुलाई मिथ्यांक दिन प्रेरित गर्नुभएको होला ।’ उनले वर्तमान सरकार राजनीतिक रुपमा अनुदार भएको टिप्पणी गरे ।
जोशीले देशको सबै आर्थिक सुचांकहरु नकारात्मक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले व्यापार घाटा बढेको छ । महँगी बढेको छ । विदेशी लगानी घटेको छ । तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’
सुन काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने,‘सुन काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’
सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । उनले भने,‘ठूलो कुरा गरेर हुँदैन् । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होईन । तर, तामझाम गर्नुहुँदैन् ।’ उनले मुलुक अहिले रशातालमा रहेको बताए ।
जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न तेर्साए ।
उनले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । उनले भने,‘तथ्यांक हेर्ने हो भने पनि अहिले नेपालको डुईङ विजनेश ५ अंकले घटेको छ, विदेशी लगानी ६६ प्रतिशतले घटेको छ, यो अत्यन्तै चिन्ताजनक हो ।’ मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए ।
उनले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउनसक्नेपनि बताए । जोशीले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे ।
कर्णले भने,‘केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ । समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।’
कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरे । उनले भने,‘यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ती प्रक्रिया केही पनि राम्रो काम भएको छैन् ।’ राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतैपनि सफल नभएको उनले जिकिर गरे ।
विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ । यद्धपी उनले आफूहरुले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको स्पष्ट पारे । उनले भने,‘तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं । त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उद्युम मच्याईरहनुपर्दैन् ।’
प्रधानमन्त्री ओलीले आफूहरुलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीले हामीलाई पटक–पटक आश्वासन दिनुभएको छ, कहिले ७ दिनभित्र अघि बढाउँछु भन्नुभएको छ, कहिले तीन महिना भन्नुहुन्छ, अब पार्टीले यस विषयमा खास गरेर समर्थन जारी राख्ने वा नराख्ने भन्ने विषयमा अब बस्ने बैठकमा ठोस निर्णय गर्छ ।’
फरक प्रसँगमा उनले भ्रष्टाचार निवारण गर्ने निकायका व्यक्ति नै भ्रष्टाचारमा मुछिएको सुनाउँदै यो समस्यालाई गम्भिर रुपमा लिनुपर्ने बताए । उनले भने,‘यस्तो निकायमा नियुक्ती गर्दा हिजो सुनुवाई समिति वा संवैधानिक परिषदमा बसेकाहरुले आफ्नो मान्छे छान्दा आज यस्तो दुर्गती निम्तिएको हो ।’
मुलुकको यस्तो जिम्मेवार निकायका व्यक्ति नै यसरी भ्रष्टाचारमा मुछिएपछि सुशासन छ कि छैन भन्ने कुरा टर्च बालेर खोज्नुपर्ने अवस्था आउने पनि उनको तर्क छ ।
कर्णले भ्रष्टाचार बढ्नुको मुख्य कारण पनि सुनाए । उनले भने,‘कर्मचारीको तलब थोरै छ, सन्तानलाई महँगो स्कुलमा पढाउँछन्, आलिसान महलमा बस्छन् । सबभन्दा धेरै ६० हजार तलब पाउने कर्मचारीले पनि यसरी एक लाख तिरेर बालबच्चा पढाउने अनि आलिशान बंगलामा बसेपछि भ्रष्टाचार भैहाल्छ नि ।’