१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिमा विवाद

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७३, मंगलवार ०५:५१

काठमाडौं । नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ ।

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति प्रस्ताव गरेको जनाउँदै असन्तुष्ट पक्षले ब्यानर च्यात्नाका साथै कुर्सी फालेका थिए । तनाव उत्पन्न भएपछि कार्यक्रमका वक्ताले सम्बोधन गर्न पाएनन् ।

समितिका प्रस्तावित अध्यक्ष कार्कीले भने आफूहरुले विधिवत् भेला गरेको र सहमतिमा नयाँ समिति गठन गरिएको जिकिर गर्नुभयो । अघिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष राजन दाहाललाई जानकारी नदिई कार्यक्रम गरेको जनाउँदै केहीले असन्तुष्टि जनाएका हुन् । समितिभित्रको विवादलाई सहमति र परामर्शका आधारमा अन्त्य गर्नुपर्ने पार्टीका पूर्वमहाधिवेशन प्रतिनिधि रोजन राईले बताउनुभयो ।